रेशम चौधरीलाई प्रमाणपत्र दिन माग

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उहाँले प्रतिवेदन तथा अदालतबाट चौधरी दोषी देखिएमा कानूनअनुसार सजाय हुने बताउनुभयो ।

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा चौधरी ३४ हजार ३४१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित सांसद चौधरीकी श्रीमती रञ्जिताले आयोगले उम्मेदवारी लिएपछि जनताको परिणामलाई स्वीकार्नुपर्नेमा जोड दिँदै प्रमाणपत्र वितरण गर्ने दायित्व आयोगकै भएको बताउनुभयो ।

टीकापुर थारु संघर्ष समितिका संयोजक रामबहादुर बुढा ऐर, सदस्य फागुराम चौधरीलगायतले टीकापुर घटना दुःखदायी र राजनीतिक भएको बताउँदै जननिर्वाचित चौधरीलाई तत्काल प्रमाणपत्र प्रदान गर्न आग्रह गर्नुभयो ।

Loading...