म्यादी प्रहरीको प्रदर्शनमा प्रहरीको गोली एक म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । कालिकोटमा नेपाल प्रहरी र म्यादी प्रहरी बीच झड्प हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बिदाई भएका म्यादी प्रहरीहरुले अन्य जिल्लामा धेरै पैसा पाएको हल्ला चलेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटमा ढुंगामुढा गरेपछी स्थिती तनावग्रस्त भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिनका लागी प्रहरीले गोली समेत चलाएको छ । तर, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले ताकेर गोली नहानेपनि हवाई फायर मात्र भएको दाबी गरेका छन् ।

‘गोली चलेको छैन, हवाई फायर मात्र भएको हो’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘झडपका क्रममा ढुंगाले लागेर विकेक ऐडीको मृत्यु भएको छ उनी म्यादी प्रहरी या सर्वसाधारण के हुन भन्नेबारे खुलेको छैन ।’

भ्mड्पमा घाईते हुनेहरुको विवरण आईनसकेको उल्लेख गर्दै प्रजिअ गैरेले म्यादी प्रहरीले अचानक प्रहरी कार्यालय घेराउ गरेपछि झडप भएको बताए ।

‘अरु जिल्लामा बढी पैसा दिएको भनेर कसले हल्ला फिजाएछ’ प्रजिअ गैह्रेले भने, ‘त्यसअघि केही गुनासो आएन, गुनासो आएको भए छानविन गरेर निष्कर्ष निकाल्थ्यौं ।’

एक्कासी म्यादी प्रहरीले आफ्नो कार्यालय घेरेपछि प्रहरीले लाठी, अश्रुग्याँस र गोली प्रहार गरेको थियो । घटनास्थलमा एक जनाको मृत्यु भएसँगै अहिले म्यादी प्रहरीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

Loading...