रत्ननगर महोत्सव पुस २७ गते देखि

कृषि क्षेत्रको आधुनिकीकरणमा जोड

चितवन । रत्ननगरको टिकौली चौरमा पौष २७ देखि माघ ७ गते सम्म रत्ननगर महोत्सव हुने भएको छ ।
महोत्सवमा महोत्सवमा कृषि क्षेत्रको विकास र आधुनिकीकरणलाई प्राथमिकता दिईएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा कृषिको व्यवसायिक विकासको लागि उत्पादित बस्तुको बजारीकरण र कृषिमा आधुनिकरणलाई ध्यान दिईएको छ ।
कृषिको विकास र विस्तारको लागि यस पटक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासंग सहकार्य गरिएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले बताए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य रहेको संयोजक रेग्मीले बताए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने छ । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ ।

महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्राथमिकता दिईएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सव अन्तर्गत माघ २ गते देखि ६ गते टाँडी चोकमा फुड फेष्टिवल गरिने छ ।

पाँच दिनसम्म चल्ने सो फुड फेष्टिलमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरसंग सम्वन्धित मासुको खपत बढाउन,उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोर्क,पोल्ट्री,कृषिका खाद्य परिकार सहित फुड फेस्टिबल आयोजना गरिएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

महोत्सव नजिकिदै गर्दा स्टल निर्माण,प्रचारप्रसार र स्टल बुकिङको काम तीब्र रुपमन भईरहेको संघका महासचिव निराजन खनालले जानकारी दिए । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । यस पटकको रत्ननगर महोत्सव नवौं संस्करण हो ।

Loading...