भैरहवा ग्ल्याडिएटर र्इपीएलको क्वालिफायर राउन्डमा

काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियटर क्वालिफायर्स चरणमा प्रवेश गरेको छ । राष्ट्रिय टोलीका अनुभवी खेलाडी शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले लिग चरणको चौथो खेलमा पोखरा राइनोजलार्इ सोमबार सात विकेटले पराजित गर्दै क्वालिफायर्स चरणमा प्रवेश गरेको छ ।

जितसँगै भैरहवाको लिगमा ६ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहँदै पारस खड्काको टोली विराटनगर वारियर्स यसअघि नै क्वालिफायर्समा पुगिसकेको छ ।

टियू मैदान कीर्तिपुरमा पोखराले दिएको १०९ रनको सामान्य लक्ष्य भैरहवाले ३ विकेट गुमाएर १७.४ ओभरमा पूरा गर्‍यो । प्रदीप ऐरी दोस्रो ओभरमा व्यक्तिगत २ रनमै आउट भएपनि अर्का ओपनर प्रथम सालुन्केले १२ बलमा ६ चौकाको सहयोगमा २६ रन बनाए । तेस्रो नम्बर चौथो नम्बरमा आएका हरिशंकर शाहले पनि ३ रनमात्र बनाउन सके ।

तर, कप्तान शरद भेषावकर र आरिफ शेखले चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ४७ बल खेलेर शेखले ४८ र ३७ बल खेलेर भेषावकरले ३२ रन बनाए ।

पोखराका तेज वलीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । सुरुवात सन्तोषजनक रहे पनि पोखराका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । ओपनर सुनील धमला र इर्साउल्लाहले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरे ।

धमला १५ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा त्यसपछि आएका आसिफ अलीले पनि १० रनमात्र बनाउन सके । चौथो नम्बरमा आएका नूरध्वज सेनले ७ रन बनाएर आउट भए ।

प्रतियोगिताकै फ्लप ब्याट्सम्यानको रुपमा देखिएका ‘हेवीवेट’ खेलाडी बिनोद भण्डारी र राजेश पुलामी मगर दुवैजना खाता नखोली आउट हुँदा पोखराले ११ ओभरमा ५ विकेट गुमाएर ७० रन बनाएको थियो ।

इर्साउल्लाहले पोखराको इनिङका लागि १५औं ओभरमा ४१ रनको स्कोरमा आउट भए । पोखराका ८ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् भने उसले १७ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषावकर र कृष्ण कार्कीले २-२ विकेट लिए । खेलको म्यान अफ द म्याच आरिफ शेख बने ।

प्रतियोगिताको लिग चरण अन्तर्गत मंगलबार हुने अन्तिम दुई खेलमा भैरहवाले चितवन टाइगर्स र पोखराले ललितपुर प्याटि्रयट्ससँग प्रतिस्पर्धा गर्नेछ । यी खेलले ईपीएलको क्वालिफायर्समा पुग्ने अन्य दुई खेलको टुंगो लाग्नेछ ।

Loading...