सिमेन्ट उद्योगमा १४ अर्बको लगानीमा चिनियाँ कम्पनी

काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता (पीआईए)को प्रक्रिया अगाडि बढाएको छ ।

खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो ।

कम्पनीले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति पाएको छ । योसँगै लगानी बोर्डले पीआईएका लागि छलफल गाडि बढाएको छ । सो कम्पनीले १४ अर्ब (१४० मिलियन डलर) रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्दैछ । उसले नारायणी अञ्चलको कुनै जिल्लामा उद्योग स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोर्डका अनुसार उद्योगबाट दैनिक तीन हजार टन उत्पादन गर्ने लक्ष्य छ । तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । तर, उद्योगका लागि खानी नपाउँदा अन्य प्रक्रिया अगाडि बढाएको थिएन ।

कम्पनीले नेपालमा‘हुवाजिन सिमेन्ट नारायणी’ नामको कम्पनी दर्ता गरिसकेको छ ।

यसअघि चिनियाँ लगानीमै स्थापना भएको शिवम् होङ्सी सिमेन्ट पनि उत्पादन थाल्ने तयारीमा छ । उद्योगले नेपालमै क्लिंकर उत्पादन गर्नेछ ।

हुवाजिन पनि नेपालमै क्लिंकर र सिमेन्ट उत्पादन गर्ने योजनामा छ । दुवै उद्योगले उत्पादन थालेपछि मुलुक सिमेन्टमा आत्मनिर्भर बन्ने छ ।

Loading...