सत्ता हस्तान्तरण गर्न आतुर छु ः प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् । चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताए ।

निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन काँग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उनको भनाइ थियो । ‘‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ’’ प्रधानमन्त्री देउवाले भने ।

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उनले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताए ।

काँग्रेसकै नेतृत्वमा देशमा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास भएको उनको दाबी थियो । उनले अब मुलुकले थप समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वी चितवनमा बाढीको समस्या रहेको भन्दै स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा तटबन्धको काम हुँदै आएको बताए ।

कार्यक्रममा चितवन क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद कृष्णप्रसाद खनाल, होटल संघ नेपाल(हान)का केन्द्रीय अध्यक्ष अमरमान शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमका अवसरमा संरक्षणमा उत्कृष्ट कार्य गरी वन र वन्यजन्तु संरक्षणमा विशेष योगदान दिने चितवन राष्ट्रिय निकुञ्जलगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यवसायीको रहेको छ ।

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४औँ संस्करण आजदेखि शुरु भएको हो । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्ट वाक प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती शृङ्गार प्रतियोगिता, हात्ती बार्थिङ्ग प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता गरिने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना गरिएको महोत्सव हरेक वर्ष अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गरिँदै आएको छ । महोत्सव सम्पन्न गर्न करिब रु ८१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Loading...