प्रदेश २ मा मधेसी सरकारः दुर्इ मधेसी दलको दाबी

काठमाडौँ । प्रदेश दुईमा सरकारको नेतृत्वका लागि राजपाले अाफ्नो दाबी प्रस्तुत गर्ने भएको छ । प्रदेश २ मा मधेशवादी दलले बहुमत ल्याएको छ । दुई दलले नै मधेश सरकार बनाउने घोषणा पनि गरेका छन् ।

तर, कसको नेतृत्वमा बन्ने अझै टुङ्गो लागेको छैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा समानुपातिक सहित २९ सीट ल्याएको छ भने महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकसहित २५ सीट ल्याएको छ ।

मतको हिसाबले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने देखिन्छ । र, फोरम नेपालको अध्यक्ष यादवले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने घोषणा पनि गरिसकेका छन् । तर, राजपा नेपालले पनि त्यसमा आफ्नो दावी छाडेको छैन ।

बुधबार राजपा नेपालको राजनीतिक समितिको बैठकले दुई नम्बर प्रदेशमा फोरम नेपालले एक्लैले सरकार बनाउन सक्ने अवस्था नभएको भन्दै पार्टीले संयुक्त सरकार भएकाले सरकार नेतृत्वको दावी छाड्न नहुने निष्कर्ष निकालेको हो ।

‘फोरम नेपालले बढी सीट ल्याएको छ । उसले दावी गर्नु स्वभाविक हो । तर, संयुक्त सरकार निर्माण हुने भएकाले दावी छाड्न नहुने भन्दै दुई नम्बर प्रदेशमा फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार बन्ने मात्र निर्णय गरेको छ,’ बैठकमा सहभागि एक नेताले भने ।

जसले बढी सीट ल्याएको छ, त्यसले दावी गर्नु स्वभाविक भएको तर संयुक्त सरकार बन्ने भएकाले त्यसमा छलफल हुने उनले बताए ।

उता राजपा नेपालको यस्तो निष्कर्ष निकालेपछि फोरम नेपालले पनि आफ्नो धारणा बनाउनका लागि आज पदाधिकारीको बैठक बोलाएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा बसिरहेको पदाधिकारीको बैठकमा दुई नम्बर प्रदेशमा सरकार गठन गर्ने विषय मुख्य विषय हुने बताइएको छ ।

फोरम नेपालले सरकार गठनका लागि आफ्नो दावी कुनै पनि हालतमा नछाड्ने बताइएको छ । सविधान अनुसार जुन दलले बढी सीट ल्याएको छ त्यो दलले सरकारको नेतृत्व गर्नुपर्ने प्रावधान रहेको छ । त्यसैले फोरम नेपालले नै सरकारको नेतृत्व गर्ने गरि तयारीमा जुटेको छ ।

यता, राजपा नेपालको पनि अध्यक्ष मण्डलको बैठक बबरमहिलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

Loading...