ल्होसारको रमझममा रम्दै गुरुङ समुदाय

चितवन । तमू अर्थात् गुरूङ समुदायको महत्वपूर्ण पर्व ल्होसार सुरू भएको छ । चितवनका गुरूङ समुदायले यस वर्षको ल्होसार पुस १५ भन्दा पहिलेदेखि नै मनाउन सुरू गरिसकेका छन् । खासमा हरेक वर्ष पुस १५ को दिन यो पर्व विषेश रूपले मनाउने चलन रहेको छ ।

पुस १५ गते जिल्लामा रहेका गुरूङ समुदायले आ–आफ्नो स्थानमा ल्होसार मनाउने हुँदा तमू प्ये ल्हू संघ जिल्ला कार्य समिति चितवनले भने बिहीबार नै ल्होसार पर्व मनाएको छ । समितिले बिहीबार नै औपचारिक कार्यक्रमको आयोजना गरेर समितिलाई सहयोग गरेका दाताहरूलाई सम्मान गरिएको छ । तमू प्ये ल्हू संघका १२ वटा इकाइ र अन्य व्यक्तिगत रूपमा सहयोग गर्ने ६ जनालाई भरतपुरमा कार्यक्रम आयोजना गरेर सम्मानपत्रद्वारा सम्मान गरिएको तमू प्ये ल्हू संघ चितवनका अध्यक्ष जगतबहादुर तमूले जानकारी दिए ।

समितिले आयोजना गरेको कार्यक्रममा तमू संस्कृति झल्किने विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । शुक्रबार र शनिबार भने विभिन्न इकाइहरूमा भव्य कार्यक्रम आयोजना गरिने समितिका सचिव बिक्रम तमूले जानकारी दिए । हरेक वर्ष मनाउँदै आएको ल्होसार पर्वलाई यस वर्ष पनि सभ्य र भव्य तरिकाले मनाउन सम्पूर्ण इकाइ समितिलाई निर्देशन दिइसकेको उनले बताए ।

Loading...