अध्यादेशमा एमाले लचकः फुक्दै राष्ट्रिय सभा गठनको गाँठो

काठमाडौं । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एमाले लचिलो हुने संकेत देखाएको छ । राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको नेकपा एमालेको विरोधका कारण राष्ट्रपति कार्यालयमा अध्यादेश रोकिएको छ ।

एमाले अध्यादेशमा लचिलो रूपमा देखिएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिन सक्ने भन्दै सचेत गराएका थिए ।

उनले एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने बताएका थिए । यसपछि एमाले केही लचिलो भएको हो । यो सन्देश राष्ट्रपति कार्यालयमा पुगिसकेको एमालेका एक नेताले जानकारी दिए ।

अब सम्भवत एक दुर्इ दिनमै अध्यादेश प्रमाणिकरण हुने छ ।
बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।

बिहीबार मात्रै पनि माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपतिलार्इ अध्यादेश अगाडि बढाउन अाग्रह गरेका थिए ।

अध्यादेश रोकिएको विषयमा भारत पनि सकारात्मक छैन् । एमालेले राष्ट्रपतिलार्इ उस्काएको विश्लेषण पूर्व भारतीय राजदुत राकेश सुदले भनेका छन् । उनले यसलार्इ लम्बाइरहन एमालेलार्इ घातक हुने भन्दै एमालेलार्इ ‘फेस सेभिङ’को बाटो खोज्न सुझाव समेत दिएका छन् ।

यसवीचमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेकी थिइन् । साथै उनले राजपा र संघीय फोरमका नेताहरुसँग पनि छलफल गरेकी थिइन् । पछिल्लोपटक विहीबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्दा फरक नपर्ने केपी ओलीको सन्देश सुनाएका थिए ।

अब राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा देखिएको विवादबाट एमाले पछि हटेपछि सरकार गठन र राष्ट्रियसभा निर्वाचनको मार्गप्रशस्त हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले विहीबार नै राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरिसकेको छ । आयोगले १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको छ ।

Loading...