बाटोमै जन्मिन्छन्, बाटामै मर्छन शीशु

काठमाडौँ । बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–८ की ३६ वर्षीया डोमा गुरुङ (भोटे) ले हालसम्म ११ सन्तान जन्माइन् । यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । तीमध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जीवित छन् ।

पाण्डुसेनका भोटे परिवार चिसो छल्न औल झर्ने क्रममा बाटोमै जन्मेका शिशु र अन्य बालबच्चाहरू । लेकाली भेगमा बसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन् । सिंगै परिवार भेडाच्यांग्रासहित घर छाड्ने भएकाले कतिपय गर्भवती बसाइँसराइका क्रममा बाटोमै बच्चा जन्माउँछन् ।

बाजुराको उत्तरी भेगका यी बासिन्दाको थर गुरुङ, थापा रहे पनि उनीहरू भोटे जनजाति हुन् । उनीहरूको मुख्य पेसा भेडापालन हो । बर्सेनि हिउँदयामको सुरुआतसँगै बस्ती आसपासको लेकाली भेगमा हिमपात हुन थाल्छ । त्यसैले उनीहरू केही महिना औलमा बिताउँछन् । घर फर्कंदा भेडालाई बोकाएर खाद्यान्न पनि ओसार्छन् ।

‘यो क्रम पुर्खाकै पालादेखि चल्दै आएको हो,’ समुदायका अगुवा नृप थापाले भने, ‘औलतिर आउजाउ गर्दा गर्भवती महिला पनि साथै हुन्छन् । कतिपय बाटोमै सुत्केरी हुन्छन् ।’ मंसिर–पुसको चिसो ठिहीमा त्रिपालमुनि रात गुजार्छन् उनीहरू । बाटोमै सुत्केरी हुनु सामान्य ठान्छन् महिला । आराम गर्न पाउँदैनन् । भेडाच्यांग्रा सँगै हुने भएकाले दोस्रो दिन अर्को गन्तव्यमा पुग्नैपर्छ । ‘परम्परागत बाध्यता र चेतना अभावले यहाँका भोटे जनजाति महिला बाटोमै सुत्केरी हुन्छन्,’ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भने, ‘शिशु र आमाको स्वास्थ्य जोखिममा पर्छ ।’

बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ बच्चा जन्माइन् । ती सबै बसाइँसराइकै क्रममा बाटोमै जन्मेका हुन् । ‘७ जनाको बाटैमा मृत्यु भयो,’ बिस्नाले भनिन्, ‘अति चिसोले सबै बालबच्चा जोगाउन मुस्किल पर्छ ।’ सदरमुकाम रहेको बडीमालिका नगरपालिका–७ की ४९ वर्षीया पक्क थापाले पनि १४ सन्तान जन्माइन् । तीमध्ये १३ जना बसाइँ सर्ने क्रममै जन्मेका हुन् । ९ बच्चाको बाटोमै मृत्यु भयो । ‘महिलाहरूलाई सुत्केरी स्याहारबारे थाहै छैन,’ भोटे जनजाति सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका नृपले भने को अाजको कान्तिपुर दैनिकमा समाचार छ ।

Loading...