पूर्वराजासँग भेटेपछि कमल थापाले भनेः हिन्दु राष्ट्र र राजसंस्थाका लागि सडक संघर्ष

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाबीच शिष्टाचार भेट भएको छ । जिल्लाको भुजईगाँउमा रहेको होटल सोल्टीमा दुर्इ नेताबीच करिव डेढघन्टा भेट भएको थियो ।

ज्ञानेन्द्र केही दिनदेखि नेपालगञ्जमा छन् । शनिबार ज्ञानेन्द्रलाई भेटेपछि थापाले भने, ‘उहाँसँग (पूर्वराजा) शिष्टाचार भेट भएको हो । शिष्टाचार कुरा मात्रै भयो, अन्य केही भएन ।’ पूर्व राजा ज्ञानेन्द्रले राप्रपाको अागामी कार्यक्रमबारे चासो राखेको थापाले जानकारी दिए ।

राप्रपा अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण हतोत्साहित कार्यकर्तालाई हौसला प्रदान गर्न देश दौडाहमा निस्किएका छन् । सोही क्रममा नेपालगञ्ज पुगेका थापा र मध्ये र सदुरपश्चिमको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहबीच शनिबार भेट भएको हो ।

राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको भन्दै थापाले राजतन्त्र र हिन्दूत्वको एजेण्डा बोकेको पार्टीले राष्ट्रिय पार्टी नै बन्न नसक्ने गरी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुर्भाग्य भएको बताए ।

अब सदनमा राजतन्त्र र हिन्दूत्वको विषयमा आवाज उठाउनेहरुको उपस्थिति नै नहुने अवस्था आएको उनले बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा सडकबाट अान्दोलन गरी एजेण्डा स्थापित गर्ने बताए ।

Loading...