भैरहवामाथि एक रनकाे रोमाञ्जक जित निकाल्दै विराटनगरले चुम्यो इपीएलको उपाधी

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ । शनिबार भएको फाइनल प्रतियोगितामा विराटनगरले भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै उपाधी हात पारेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो । एकसय ५० रनको विजय लक्ष्यका साथ राष्ट्रिय टोलीका गेम भिनिसर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

खचाखच दर्शकले भरिएको किर्तीपुर स्थित त्रिवि क्रिकेट मैदानमा ८ औँ ओभरसम्म आफ्नो नियन्त्रण राखेर खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा पराजित भयो । भैरहवाले अन्तिम २ ओभरमा ५ विकेट गुमायो ।

एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो गरेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको थियो । तर १५ औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो ।

यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।

अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने ५ अ‍ैँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र १ रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले ९ रन बनाएका थिए ।

शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २-२ तथा शरद भेषवाकर र आरिफ शेखले १-१ विकेट लिए ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो । अघिल्लो वर्ष भएको उक्त प्रतियोगिताको पहिलो संस्करण भने भेषवाकरकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु २१ लाख पु¥याइएको हो । यो राशि नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गत जेठमा आयोजना गरेको प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

Loading...