सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उहाँले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।

सोही अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नयाँ संविधानको कार्यान्वयनसँगै अब मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । नेकपा (एमाले) का नेता पार्वत गुरुङले राज्यका हरेक संरचनामा आदिवासी जनजातिको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

Loading...