नारायणगढ–मुग्लिन सडकखण्डमा मानव बस्ती नभएको ठाउँमा सवारी रोकिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ । रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि यही पुस १८ गतेबाट रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उनले बताए ।

काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीसाधनलाई तनहुँ प्रहरीसँग समन्वय गरी उपयुक्त ठाउँमा रोक्ने व्यवस्था गरिने उनले जानकारी दिए । मुग्लिन बजारमा सार्वजनिक शौचालय रहेको र रातको समयमा पनि होटल खुल्ला रहने हुँदा बाहिर शौच गर्नुपर्ने बाध्यता नरहेको उनले बताए ।

विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।

Loading...