एक वर्षमा १२ देशसँग कुटनीतिक सम्बन्ध विस्तार
काठमाडौँ । नेपालले एक वर्ष भित्र १२ देशसँग कुटनीतिक सम्बन्ध विस्तार गरेको छ । सन् २०१७ मा नेपालले अफ्रिकी तथा युरोपीयन मुलुकहरुका अधिकांश भूपेरिवेष्ठित तथा असंलग्न राष्ट्रहरुसँग सम्बन्ध स्थापना गरेको हो ।

नेपालले वर्षको अन्तिम दिन शनिबार अर्फिकी मुलुक बुर्किनाफासोसँग कुटनीतिक सम्बन्ध विस्तार ग¥यो । योसँगै नेपालले संयुक्त राष्ट्र संघका १५५ देशसँग कुटनीति सम्बन्ध विस्तार गरेको छ ।

वार्षिक क्यालेण्डरमा यो नै नेपालले हालसम्म कुटनीतिक सम्बन्ध विस्तार गरेको धेरै संख्या हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि (राजदूत) ले दुर्गाप्रसाद भट्टराईले नयाँ वर्षको सुरुवात हुनुभन्दा अघिल्लो दिन शनिबार पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोसँग द्वीपक्षीय कुटनीतिक सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी यो रेकर्ड कायम गरेका हुन् ।

शनिबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि (राजदूत) ले दुर्गाप्रसाद भट्टराई र बुर्किना फासोका स्थायी प्रतिनिधि एम्दोगो एरिक टियरेबीच कुटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।

दुबै प्रतिनिधिले यस सम्बन्धी जानकारीसहितको पत्र संयुक्त रुपमा हस्ताक्षर गरी राष्ट्र संघका महासचिव एनटोनीय गुटेरसलाई बुझाएका छन् । कुटनीतिक सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सँगै दुबै देशका प्रतिनिधिहरुले साझेदारीका विविध क्षेत्रका विषयमा चर्चा गरेका थिए ।

संयुक्त राष्ट्र संघको विभिन्न निकायमा नजिक रहेर काम गरेका दुई देशबीच कुटनीतिक सम्बन्ध विस्तारसँगै आगामी दिनमा थप साझेदारी गरेर अगाडि बढ्ने विश्वास लिइएको छ ।

१९८४ अघि ‘अप्पर भोल्टा’ का नामले परिचित यो मुलुक हाल बुर्किना फासो रुपमा चिनिन थालेको हो । जसको अर्थ अर्थ इमान्दार मानिसहरुको भूमि हो । पश्चिमी अफ्रिकी मुलुक बुर्किनाफासो नेपाल जस्तै भूपेरिवेष्ठित राष्ट्र हो । यहाँको जनसंख्या एक करोड ७० लाख छ भने भूगोल नेपालको भन्दा करिब एक लाख बर्गकिलोमिटर ठूलो छ ।

५ अगस्ट १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको बुर्किना फासो २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । नेपाल र बुर्किना फासो दुबै अति कम विकसित, भुपेरिवेष्ठित राष्ट्रहरुको समूहका सदस्य हुन । त्यस्तै समूह ७७ र असंलग्न राष्ट्रहरुको अभियानका समेत सदस्य राष्ट्र हुन् ।

नेपालले गत २२ डिसेम्बरमा मध्ये युरोपको भुपेरिवेष्ठित राष्ट्र लिकटेन्स्टीनसँग कुटनीतिक सम्बन्ध विस्तार गरेको थियो । भने ९ डिसेम्बरमा अप्रिकी मुलुक अंगोलासँग कुटनीतिक सम्बन्ध विस्तार भएको थियो ।

यसअघिका वर्षहरुको भन्दा यसवर्ष सबैधन्दा धेरै कुटनीतिक सम्बन्ध स्थापना भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले ७ वर्षको अवधिमा जम्मा २४ वटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेकोमा सन् २०१७ मात्र १२ वटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि (राजदूत) भएर सन् २०१३ मा न्यूयोर्क गएका भट्टराईको कार्यकालमा मात्र १६ वटा देशमा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

सन् २०१४ मा कुनै पनि देशसँग यस्तो सम्बन्ध स्थापना हुन सकेन् । सन् २०१५ मा काजाकास्तान र जमाइकासँग कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस्तै सन् २०१६ मा गीनी गणराज्य र एल साल्भाडोरसँग कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएका देशहरु

  1. बुर्किना फासो ३० डिसेम्बर २०१७
  2. लिकटेन्स्टीन २२ डिसेम्बर
  3. अंगोला ९ डिसेम्बर
  4. दी बहमास ८ नोभेम्बर
  5. इरिट्रिया ३१ अक्टुबर
  6. नाइजर २० सेप्टेम्बर
  7. लाइवेरिया १७ अगस्ट
  8. क्याबो वर्डे ३ अगस्ट
  9. एन्टिगुआ एण्ड बारबुडा २५ जुलाई
  10. रिपव्लिक अफ जिबुती १४ जुलाई
  11. कोटे डी आइबर (आइभरी कोष्ट) १६ जुन
  12. युगान्डा १२ जुन
Loading...