चितवन उद्योग संघको अधिवेशन ‘प्रचण्ड’ले उद्घाटन गर्ने

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै

चितवन । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन यही पुस २१ गते (शुक्रबार) हुँदैछ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रको सभाहलमा हुने अधिवेशनको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले जानकारी दिनुभयो । उहाँले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अहिले अधिवेशन बारे संघका सदस्यहरुलाई निमन्त्रणा गर्नेदेखि आन्तरिक तयारी भईरहेको उहाँले बताउनुभयो । संघको अधिवेशन हरेक दुई÷दुई वर्षमा हुँदै आईरहेको छ ।

चितवन उद्योग संघमा अबदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएको छ । संघले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बन्ने बाटो खोलेको हो । यससंगै संघका वर्तमान वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी अब अधिवेशन मार्फत स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । उहाँको पल्पी जुस, होटल स्टारव्याङक्वेटलगायतका उद्योगहरु रहेका छन् ।

संघका वर्तमान अध्यक्ष भिमबहादुर पाण्डेले अध्यक्षमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन र जिम्मेवारी बोध हुने किसिमले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरिएको जानकारी दिनुभयो । उहाँले वरिष्ठ उपाध्यक्ष हुँदै संघ संचालन बारे धेरै कुरा जानिने भएकाले संघको नेतृत्व हाक्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्ष मध्ये एक जनालाई एक वर्ष भित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गर्भनिङ काउन्सीलले ६ महिनादेखि एक वर्ष भित्रमा उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गर्नेछ । संघप्रतिको बढि जिम्मेवारी बहन गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष तोक्ने गर्भनिङ काउन्सीललाई अधिकार प्रदान गरिएको छ । अहिले गर्भनिङ काउन्सीलको संयोजक ताराप्रसाद पौडेल रहनुभएको छ ।

निर्वाचन प्रक्रिया २० गते
संघको नवौं अधिवेशनमा निर्वाचन प्रक्रिया भने पुस २० गते (विहीबार) नै सुरु हुँदैछ । विहीबार विहानबाट मतदाताहरुको अन्तिम नामावली प्रकाशनदेखि मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका सदस्य तथा संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले २० गते नै उम्मेद्वारमाथि दावी बिरोधसंगै अन्तिम मतदाता र उम्मेद्वारको नाम साझसम्ममा प्रकाशित गरिने जानकारी दिनुभयो । शुक्रबार बन्द सत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । यसपटक वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएपछि अध्यक्षमा चुनाव नहुने भएको छ । अन्य पदमा पनि सहमतीमै जाने प्रयास भईरहेको छ ।

नयाँ विधान अनुसार संघको उपाध्यक्षमा ६ जना, सदस्य तर्फ वस्तुगतबाट एक जना, प्रिमियम एशोसिट्सबाट एक जना, एशोसियट्सबाट एक जना र खुल्ला तर्फबाट ११ जना सदस्य बन्न पाउनेछन् । २ सदस्य भने पछि संघले मनोनित गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको संघका प्रशासकीय अधिकृत तथा निर्वाचन समितिका सदस्य पौडेलले जानकारी दिनुभयो ।

प्रिमियम एशोसिट्स तर्फ १० करोड भन्दा माथि पूँजी भएका उद्योगीहरु पर्दछन् भने एशोसियट्स तर्फ ३ देखि १० करोड रुपैयाँ पूँजी भएका उद्योगीहरु पर्दछन् । यस्तै यस अधिवेशनमा गर्भनिङ काउन्सीलको निर्वाचन नहुने भएको छ । विधान संशोधन अनुसार अधिवेशनमा नपर्ने गरि एक वर्षपछि साधारणसभामा गर्भनिङ काउन्सीलको निर्वाचन हुनेछ । हालको गर्भनिङ काउन्सील नै अब थप एक वर्ष जिम्मेवारी निभाउनेछ । चितवन उद्योग संघमा ६ सय २७ जना मतदाता रहेका छन् ।

चुनावी प्रक्रियाको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता गोपीलाल देवकोटा रहनुभएको छ भने सदस्यहरुमा गुणाकर खरेल र गोविन्दप्रसाद पौडेल रहनु भएको छ ।

Loading...