श्रीमान वीरबहादुर नारायणी कला मन्दिरमा

चितवन । ‘लेख्न सक्छौ एक निर्दोश नारीको कथा छ मसँग । सक्छौ भने लेख भाइ अन्तिम पटक,’ गम्भिर मुद्धामा बोल्दै थिइन् एक युवती । यो एउटा नाटकको छोटो संवाद मात्र हो । मंगलबार दिउँसो नारायणी कला मन्दिरमा मञ्चन गरिएको नाटकमा मुख्य पात्र प्रेमलताले बालेको संवाद हो यो । एउटी धनायढ्य परिवारकी युवती सानैमा आमाको स्वर्गवास भएपछि बाबुको छत्रछायामा हुर्कीएको कहानीलाई यसरी सुरू गर्छिन् प्रेमलता ।

कथा मार्मीक र हृदयस्पर्शी छ । २०७२ सालको मदन पुरस्कार प्राप्त रामलाल जोशी लिखित ‘ऐना’ कथासङग्रहभित्रको एउटा कथा ‘श्रीमान् बीरबहादुर’लाई नाट्य रूपान्तरण गरेर कर्मी नाट्य समूह चितवनले नाटक मञ्चन गरेको हो । बुधबारबाट चारदिनसम्म नियमित शो गर्ने तयारी गरेपनि मंगलबार नारायणी कला मन्दिरमा ग्राण्ड शो गरिएको छ ।

मोडलिङ क्षेत्रबाट नाटकमा प्रवेश गर्नुभएकी नाटककी मुख्य पात्र कृपा अधिकारीले पहिलो पटक नाटकमा अभिनय गर्नुभएको हो । अभिनय गर्दा गाह्रो र रमाइलो दुवैको महसुस गरेको उहाँले बताउनुभयो । मंगलबार भएको ग्राण्ड शोबाट पनि राम्रो प्रतिकृया पाउँदा उहाँ खुशी मात्रै होइन, हौसला मिलेको समेत महशुस गर्नुभएको छ । जसले गर्दा आगामी दिनमा अझै मेहेनत गरेर अगाडी बढ्ने उहाँको भनाइ छ ।

आफूले अभिनय गर्न पाउनु नै आफ्नो सन्तुष्टिको पाटो रहेको नाटकका मुख्य कलाकार सुरेश जिसी बताउनुहुन्छ । उहाँले करिब आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएको छ । अहिलेसम्म खेलेका नाटक र ‘श्रीमान् बीरबहादुर’मा खासै फरक अनुभव नभएको उहाँको भनाइ छ ।

‘श्रीमान् बीरबहादुर’ नाटक मञ्चनको ग्र्राण्ड शोबाट सबैको सकारात्मक प्रतिकृया पाएकोमा नाटकका निर्देशक भीष्म जोशीले खुशी व्यक्त गर्नुभयो । डेढ महिनासम्म दिनरात नभनी गरेको मेहेनतले मृर्त रुप लिएको भन्दै कलाकार तथा अन्य सम्पूर्ण पक्षबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । नाटकमा प्रहरी असईको भूमिकामा अभिनय गर्नुभएका निर्देशक जोशीले पौष १९ गतेबाट २२ गतेसम्म नाटक मञ्चन हुने हुनाले दर्शकहरूलाई नाटक हेरेर प्रतिकृया दिन पनि आग्रह गर्नुभएको छ ।

चितवनमा नाटकको सम्भावना राम्रो रहेको बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले बताउनुभयो । उहाँले नाटक मञ्चनलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो । साथै उहाँले पर्दामा हेर्नु र प्रत्यक्षरुपमा हेर्नुमा धेरै फरक रहेको बताउनुभयो ।

कृपा अधिकारी, सुरेश जिसी, अञ्जान ढुङ्गाना, सुमित आचार्य, विवेक तिवारी, अस्मिता थापा, प्रदीप आचार्य, रञ्जना सापकोटालगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । चितवनमा कर्मी नाट्य समूहले पहिलोपटक नाटकघर निर्माणका लागि नाटक प्रस्तुत गर्न लागेको हो । नारायणगढस्थित नारायणी कला मन्दिरमा चार दिनसम्म हरेक दिन दुई÷दुई शो पञ्चन गर्ने तयारी भएको कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले बताउनुभयो ।

उहाँका अनुसार हरेक दिन दिउँसो १ र ४ बजे नाटक मञ्चन हुनेछ । नाटक हेर्नको लागि २ सय र ५ सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । चितवनले मेडिकल सिटी, गजलको राजधानी तथा अन्य उपनामहरु पाइरहँदा नाट्य क्षेत्रको विकास र सम्र्बद्धनका साथै नाट्यशाला निर्माणको लागि नाटकघरको आवश्यकता महसुस गर्दै कर्मी नाट्य समुहले प्रयास गरेको समूहका संयोजक मुकुन्द खलपात्रले जोड दिनुभएको छ । यसअघि पनि नाटकघर निर्माणका लागि एकल कविता वाचनका साथै अन्य विविध कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Loading...