पार्टी एकता थप गृहकार्यपछि मात्र

काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरणमा सैद्धान्तिक र वैचारिक समस्या नरहेको उल्लेख गर्दै संगठन व्यवस्थापनमा भने केही गृहकार्य आवश्यक रहेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा पार्टी एकता र अहिलेको राजनीतिक अवस्थाबारे जानकारी दिँदै दाहालले एकता प्रक्रियाका लागि शीर्ष नेतृत्वमा छलफल भइरहेको उल्लेख गरे ।

छलफलमा आएका एकताका विकल्पबारे भने उनले स्पष्ट जानकारी बैठकलाई दिएनन् । उनले एमाले अध्यक्ष केपी ओलीसँग भेटी एकता संयोजन समितिको बैठकबाट मात्र एकतासम्बन्धी विकल्पको ठोस खाका आउने उल्लेख गरे । ओली अस्वस्थ भएकाले केही दिनयता उनीसँग छलफल नभएको तर बुधबारबाटै कुराकानी अघिबढ्ने जानकारी पनि दाहालले बैठकमा दिए ।

माओवादीभित्र एमालेसँग एकता गर्दा अध्यक्ष पद आफूले लिनुपर्ने दबाब छ । माओवादीको यसअघिको बैठकले सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको थियो । एकता प्रक्रियामा जाँदा मुख्य नेताहरूको पदीय व्यवस्थापनलाई विशेष ख्याल गर्ने उल्लेख थियो । सिद्धान्तका सम्बन्धमा एमालेले ‘जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले ‘माओवाद’ मान्दै आएका छन् । तर, दुवै पार्टीका यसअघिका महाधिवेशनले तयार गरेका दस्तावेजमा वैचारिक निकटता छ । त्यसैले सिद्धान्त र विचारले एकता प्रक्रियामा अडन नआउने दाहाललगायत नेताको बुझाइ छ । बैठकमा पनि दाहालले संगठन व्यवस्थापनको गृहकार्यलाई बढ्ता जोड दिएका हुन् ।

मंगलबारको माओवादी बैठकले पनि विगतकै निर्णयलाई निरन्तरता दिँदै जनमतअनुसार छिटो सरकार गठन र एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन सुझाव दिएको छ । ‘एकताका विषयमा कुनै समस्या छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘छिट्टै एकता टुंग्याउने गरी कुरा भएको छ ।’ दाहालले सरकार निर्माणका लागि अझै डेढ महिना समय लाग्न सक्ने भएकाले यसबीचमा एकताका धेरै विषय टुंग्याउने तयारी भइरहेको उल्लेख गरेका थिए । राष्ट्रिय सभा गठन, प्रदेश प्रमुख नियुक्ति, प्रदेश राजधानीलगायत विषयले नयाँ सरकार गठनलाई पर धकेलिरहेको उनको भनाइ थियो । यी काम छिटो टुंग्याउन प्रधानमन्त्री र निर्वाचन आयोगलाई आफूले भनिरहेको र सहमतिमा टुंग्याउन दबाब दिइरहेको दाहालले बताए ।

राजनीतिक गतिरोध लम्बिएकै कारण राष्ट्रपतिकहाँ अडकएको अध्यादेशको गाँठो फुकाउन आफूले पहल गरेको र त्यसमा सफलता हासिल गरेको पनि दाहालले बैठकमा उल्लेख गरेका थिए । अध्यादेश लम्बिइरहँदा कांग्रेस र एमाले दुवै सडकमै उत्रिने स्थितिबाट बाहिर ल्याएको उनको भनाइ थियो । तर, यही प्रक्रिया केही लम्बिँदा सरकार तथा राष्ट्रिय सभा गठनलगायतका काममा ढिलाइ हुने अवस्था आएको दाहालले बताए ।

‘यी प्रक्रिया सकेसम्म छिटो टुंग्याउनुपर्छ, धेरै ग्याप राख्नु हुँदैन भन्ने हाम्रो धारणा छ,’ माओवादी नेता अग्नि सापकोटाले भने, ‘जनमत गुमिसकेको सरकारले अब केही दिन आफ्नो सत्ता लम्ब्याउनेतर्फ लाग्नु हँुदैन, जतिसक्दो छिटो बाहिरिने वातावरण बनाउनुपर्छ ।’ त्यसका लागि आफ्नो पार्टीले केहीअतिरिक्त अग्रसरता लिनुपर्ने पनि उनले बताए ।

सापकोटाका अनुसार प्रदेश प्रमुख नियुक्ति पनि राजनीतिक सहमतिबाट छिटो टुंग्याउनुपर्ने माओवादी बैठकको निचोड छ । यसैसम्बन्धमा बैठकपछि अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रदेशप्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम बुझाउन पाएको छैन ।

हार छानबिन गर्न समिति
माओवादी बैठकले चुनावमा पार्टीका नेताहरू हार्नुको कारण छानबिन गर्न समिति बनाएको छ । नेता अमिक शेरचनको संयोजकत्वमा गठित समितिमा लीलामणि पोखरेल, हितराज पाण्डे, गणेश शाह, रेखा शर्मा सदस्य छन् ।

त्यस्तै एकता प्रक्रियाबाट आएका नेताहरूलाई जिम्मेवारी दिने विषयमा रामबहादुर थापाको संयोजकत्वमा अर्को समिति बनेको छ । चुनावअघि गणेश शाह नेतृत्वको नेकपा संयुक्तलगायत दल माओवादीसँग एकता प्रक्रियामा जोडिएका थिए । ती नेतालाई हालसम्म ठोस जिम्मेवारी थिएन । शाह मात्र माओवादीको हेडक्वार्टरमा सामेल छन् भने अन्य नेताहरूलाई खास जिम्मेवारी दिइएको छैन । कान्तिपुर दैनिकबाट ।

Loading...