मौरी पालनमा समस्या

चितवन । चितवन मौरी पालनको लागि उत्कृष्ट जिल्ला भएपनि विभिन्न कारणले मौरी पालनमा समस्या हुने गरेको छ । चितवनमा प्रशस्त मात्रामा तोरीको उत्पादन हुने तथा पहाडी भागमा चिउरी पाइने भएकाले पनि यहाँको महलाई गुणस्तरीय मानिन्छ ।

चितवनको मह गुणस्तरीय भएपनि बिक्रीका लागि भने समस्या भएको किसानहरु बताउँछन् । यति बेला चितवनको पहाडी क्षेत्रमा सेताम्य रुपमा मौरीका गोलाहरु देख्न पाइन्छ । चितवन सहित देशका विभिन्न जिल्लाका किसानले मौरी चराउनको लागि पहाडी भेगमा लिएर आएका छन् । चितवनमा महको उत्पादन राम्रो हुने भएपनि बजारीकरणको समस्या रहेको छ ।

चिउरीको उत्पादन पहाडी क्षेत्रमा हुने भएकाले मौरी चलाउन लैजान समेत समस्या पर्ने गरेको छ । मौरी चराउनका लागि पहाडी क्षेत्रमा लैजान पर्ने भएपनि सडक सञ्जाल नहुँदा किसानहरुलाई अप्ठ्यारो पर्ने गरेको छ ।

चितवनमा उत्पादन भएको मह महङ्गो हुने भन्दै पतन्जली र डाबर नेपालले अन्यत्रबाट मह ल्याएर नेपाली मह भन्दै बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । मह उत्पादनको मौरीको चरन क्षेत्रमा निर्भर हुने भएपनि एउटा गोलाबाट वार्षिक रुपमा ४० किलोसम्म मह उत्पादन हुने गर्दछ ।

पूर्वी नेपालको सर्लाही, चितवन, दाङलगायत अन्य जिल्लालाई मौरीको लागि पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । नेपालमा पाँच हजार एक सय ५० जना मौरीपालक किसानले वार्षिक रुपमा दुई हजार टनसम्म मह उत्पादन गर्दछन् । मौरीपालक किसानलाई प्रोत्साहन गर्नको लागि सरकारले महको बजारीकरण तथा सडक सञ्जाल विस्तार गर्नुपर्ने किसानहरु बताउँछन् ।

Loading...