बलुको हत्या र तिवारी हत्याकाण्ड र मनोज पुनसँगको कनेक्सन

रूपन्देही । शुक्रबार विहानै देवदहमा गोली चल्यो । स्थानीय फर्निचर व्यवसायी बसन्त पौडेल बलुमाथि हानिएको थियो गोली । उनको उपचारको क्रममा निधन भयो । उनको हत्या र करिब एक वर्ष अगाडि देवदहमै हत्या गरिएका युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यासँग जोडिएको छ ।

देवदहमा रहेको आफ्नो फर्निचरमा आगो तापिरहेका बलुलार्इ काठको अडर छ भन्दै दुई जना मोटरसाइकलमा आएकाहरूले गोली हाने । अर्डर गर्ने नाममा नजिकै पुगेका उनीहरु मध्ये एकले गोली हाने र मोटरसाइकमै भागे ।

घाउको र छातीमा गोली लागेर ढलेका बुललाई तत्काल लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइयो । तर, निकै नजिकबाट गोली लागेका उनको बाटोमा नै मृत्यु भइसकेको रहेछ ।

मृतक बलु एमाले क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् । उनी गत वर्ष हत्या गरिएका तिवारीका साथी हुन् । पौडेलको हत्यालगत्तै तिवारी हत्याकाण्डका मास्टर माइन्ड मनोज पुनले घटनाको जिम्मा लिएका छन् ।

पौडेलमाथि गोली प्रहार भएको केहीबेरमै बुटवलका सञ्चारकर्मीहरुलाई फोन गरेर उनले जिम्मा लिएका हुन् । आफू मनोज पुन भएको र हाल मलेसियामा रहेको भन्दै उनले हत्याको जिम्मा लिएको बताइएको छ ।

दुर्गा तिवारी हत्याकाण्डमा आफ्ना केटाहरुलाई बलु पौडेलले अनाबश्यक दुःख दिएको र फसाएकोले त्यसको वदलामा हत्या गरेको मनोजको दाबी थियो ।

मनोज पुन तिनै हुन्, जो तिवारी हत्याकाण्डपछि फरार छन् । व्यवसायी शरद गौचनको हत्यामा पनि उनको संलग्नता देखिएको भन्दै प्रहरीको उनको खोजी गरिरहेको छ ।

Loading...