कोरियाले लियो नयाँ नियम, विचमै छाडेर फर्किने कामदार फेरी जान नपाउने

काठमाडौं । दक्षिण कोरियाले नेपाली कामदारका लागि नयाँ नियम लागू गरेको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले लागु गरेको हो ।

यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।

दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर परजुलीले जानकारी दिए । सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन नपाउने उनले बताए । विदामा आउनेको हकमा यो नियम लागु नहुने तर, जागिर नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका नदिने उनले जानकारी दिए ।

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ ।

तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ । अहिले सम्म ईपीएस भाषा परीक्षा दिएर ५० हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् ।

Loading...