खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

चितवन । थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा चितवनमा आयोजना हुन लागेको ‘पाँचौं खिचरा महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित खिचरा महोत्सव यही पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा आयोजना हुन लागेको हो ।

आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले शनिबार पत्रकार सम्मेलन गरि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले विगतका महोत्सव भन्दा यसपटक महोत्सवको आकर्षण थपिएको जानकारी दिनुभयो । उहाँले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको जानकारी दिनुभयो ।

यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ । यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी र ‘चिचरको ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिने छ । महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु राखिने छन् । अहिले स्टाल निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ । महोत्वसवमा करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने महोत्सवको भूमी सुधार मन्त्री गोपाल दहितले समुद्घाटन गर्ने कार्यक्रम रहेको अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिनुभयो । महोत्सवमा ११ दिन नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Loading...