समिट एयरको विमान लिएर दाङ पुगे महराः आजदेखि दाङमा सातामा दुर्इ दिन हवाई सेवा

दाङ । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ । आजदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो ।

आज पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसहित यात्रु बनेर दाङ पुगेका हुन् ।

जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री महरासहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताए । उनले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिए ।

तत्कालका लागि दाङबाट काठमाडौँका लागि प्रतिव्यक्ति रु ६ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ ।

Loading...