मनाङमा माइनस १६ डिग्री तापक्रम, धाराको पानीसमे जम्यो

काठमाडौँ । देशभरि नै चिसो बढिरहेको छ । यस्तोमा हालसम्म मनाङमा तापक्रम यस वर्षकै सबैभन्दा तल झरेको छ । यहाँ माइनस १६ डिग्री तापक्रम पुगेको छ ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् ।

जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा बसार्इ सर्ने गर्छन् ।

अत्यधिक चिसोका कारण धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको छ । स्थानीय खोलाको पानी र उपल्लो मुस्ताङको तालको पानी समेत जमेको छ ।

तालमाथि मानिस हिँड्न सकिने गरी बरफ जमेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । ‘धारामा पानी जमेकाले पानी आउन छाडेको छ, पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था छ,’ उनले हलकारोसँग् भने ।

पन्तका अनुसार गंगापूर्ण तालको पानी मान्छे हिँड्न मिल्ने गरी बरफ बनेको छ । स्थानीय खोलानाला समेत जमेका छन् । तर, अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन ।

अत्यधीक चिसोका कारण पानी जमे पनि मनाङमा हिमपात भने सुरु भइसकेको छैन । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सदरमुकाम चामेमा अहिले घाम लागेको छ, तर चिसो अत्यधिक छ । जाडोका कारण बजार र गाउँघरमा चहलपहल छैन । अधिकांशका घरमा वृद्धवृद्धा, बालबालिका, अशक्तहरुमात्रै देखिन्छन् ।

सरकारी कार्यालयहरुमा पनि सेवाग्राही फाट्टफुट्ट आउने गर्दछन् । विद्यालयहरु बन्द छन् ।

Loading...