ट्राफिक प्रहरीको नयाँ अभियानः जेब्राक्रसबाट समूहमा बाटो काट्नुपर्ने

काठमाडौँ । सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीले नयाँ अभियान सुरूवात गरेको छ । उपत्यकामा पैदलयात्रु दुर्घटनाको जोखिमा बढी परेपछि महानगरीय ट्राफिक प्रहरीले पैदलयात्रुलाई समूहमा बाटो काट्ने नयाँ अभियान शुरुवात गरेको हो ।

जेब्राक्रसिङमा बाटो काट्नका लागि ट्राफिक लाइटको अनिवार्य व्यवस्था हुनुपर्नेमा राजधानीलगायत उपत्यकाका जिल्लाहरुका कुनै पनि स्थानमा त्यस्तो व्यवस्था नभएको हुँदा ट्राफिक प्रहरीले सो व्यवस्था नभएसम्म समूहमा बाटो काट्ने अभियान लागू गर्न लागेको हो ।

सोमबारबाट ललितपुरमा यो अभियान कार्यान्वयनको प्रक्रियासमेत शुरु गरिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

‘विदेशमा जस्तै नेपालमा जेब्राक्रसिङमा ट्राफिक लाइटको व्यवस्था छैन । जसले गर्दा सवारीसाधन र पैदलयात्रुले आ–आफ्नो पालो पर्खेर बाटो काट्ने अवस्था छैन,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘यहाँ त सवारी चालकदेखि पैदलयात्रु सबैलाई म नै अगाडि जाउँ भन्ने हतारो छ । यस्तोमा पछिल्लो समय दुर्घटनाको संख्या बढेको हामीले पायौँ । त्यही भएर पैदलयात्रुको सुरक्षा तथा दुर्घटना न्यूनिकरणका लागि यो नयाँ अभियान आजदेखि लागू गरेका हौँ ।’

पिक आवरमा ललितपुरको मुख्य सडकमा एक स्थानमा एक मिनेटमा १ सय ३ वटा सवारी गुड्ने गरेका छन् । यस्तो बेला एक–एक जना गरी बाटो काट्दा ट्राफिक जामको समस्या पनि देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको पछिल्लो अभियानले जेब्रा क्रसिङबाट बाटो काट्ने जनचेतना सर्वसाधारणमा बढेको भएपनि जेब्रा क्रसिङबाट बाटो काट्दा मानिसहरु अझै सचेत नभएको पनि प्रहरीको ठम्याई छ ।

दुर्घटना न्युनिकरण गर्नका लागि पैदलयात्रुहरुलाई समूहमा बाटो काट्न र सवारी चालकहरुलाई पनि जेब्रा क्रसिङमा पैदल यात्रुहरुलाई प्राथमिकता दिन जनचेतना फैलाउने अभियान समेत ट्राफिक प्रहरीले सञ्चालन गर्नेछ ।

Loading...