प्रदेश प्रमुख नियुक्ति गर्न किन ढिलार्इ गर्दै छन् देउवा

काठमाडौँ । प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन अायोगमा प्रदेशसभाका लागि निर्वाचित सांसदको लिस्ट थन्किएको छ । तर सरकारले प्रदेश प्रमुख नियुक्तीमा भने ढलार्इ गरिरहेको छ ।

प्रदेश प्रमुख र राजधानी छनोटका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मान्यता प्राप्त दलहरुसँगको छलफललाई जारी राखेका छन् । उनले अाज पनि प्रमुख दलहरूसँग छुट्टा छुट्टै छलफलको योजना बनाएका छन् । प्रमुख दलसँग छलफल गर्न समय लाग्ने भए पछि अाज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक नबस्ने सम्भावना बढेको छ ।

यसअघि प्रधानमन्त्री देउवा सोमबार मन्त्री परिषद बैठक डाक्ने र प्रदेश प्रमुख तोक्ने योजनामा थिए । यसअघि भएको सर्वदलीय बैठकमा वामगठबन्धनले प्रदेश प्रमुख र प्रदेश राजधानी दुबै तोक्ने अधिकार सरकारलाई रहेको भन्दै त्यसमा आफ्नो सरोकार नरहेको जनाउ दियो। त्यसपछि प्रदेश राजधानी नतोके पनि प्रदेश प्रमुख आजको मन्त्री परिषद बैठकबाट तोक्ने योजनामा थिए।

‘अहिलेसम्म मन्त्री परिषदको समय तय भएको छैन, आज बैठक बस्नपनि सक्छ, नबस्न पनि सक्छ’ प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले भने, ‘प्रधानमन्त्रीज्यू कतिपय विषयमा अझै परामर्शमा हुनुहुन्छ। त्यसपछि बैठक बस्ने नबस्ने टुङ्गो लाग्ला।’

प्रदेश प्रमुख र राजधानीका विषयमा अझै सहमति जुट्नेमा प्रधानमन्त्री देउवा आशावादी छन् । खासगरी माओवादी केन्द्र र मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको सहमति जुटाउने प्रयासमा उनी छन् ।

‘आजसम्म सहमतिको प्रयास गर्ने र त्यसपछि सहमति जुटेपनि, नजुटेपनि भोलि मन्त्री परिषद बैठक बोलाएर यस सम्बन्धी निर्णय लिने सम्भावना छ’ बालुवाटार स्रोतले भन्यो, ‘माओवादी केन्द्र र राजपा–फोरमबाट सहमति जुट्ने आशा प्रधानमन्त्री देउवाले मारिसक्नु भएको छैन।’

एक पक्षीय रुपमा चयन गर्दा दुई कारणले जोखिम हुने भय प्रधानमन्त्री देउवालाई छ। एक, नयाँ सरकार बन्ने बित्तिकै हटाइने सम्भावना। त्यसैले पनि प्रधानमन्त्री देउवा हतारमा निर्णय गरेर जोखिम मोल्न चहिरहेका छैनन् ।

Loading...