एमाले-माअोवादी एकतामा के पाक्दै छ खिचडीः प्रचण्ड अध्यक्ष नभए बाम सरकारमा सहभागि नहुने माअोवादी अावाज

काठमाडौँ । नेकपा(एमाले)ले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटीको ९४औँ बैठकले छिटो पार्टी एकताको कामलाई टुंग्याउने निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तैमा माअोवादी केन्द्रको बैठकमा नेताहरूले राखेको अभिव्यक्तिले भने एकतालार्इ सशंकित पारेको छ । माअोवादी केन्द्रको बैठकमा अधिकांश नेताहरूले सम्मानजनक एकता नभए एकतामा नै नजाने बरू गठबन्धनको सरकारमा समेत सहभागि नहुने अावाज उठाएका छन् ।

एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने र छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको बैठकपछि एमाले नेता भट्टरार्इले दिएका छन् ।

भोलि(मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताका निम्ति आवश्यक पर्ने सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधारलगायत यसको व्यवस्थापनको सन्दर्भमा प्रस्ताव र एकता संयोजन समितिले कार्यदल बनाउने र त्यसले प्रस्तावसमेत बनाएर पदलगायत आवश्यक व्यवस्थापन गर्ने निर्णय एमालेले लिएको छ । तर माअोवादी केन्द्रका नेताहरूले भने भोलीले कार्यदल नबन्न सक्ने प्रतिक्रिया दिएका छन् ।

मंगलबार बालकोटमा बस्ने पार्टी एकता संयोजन समिति बैठकले माओवादी केन्द्र र एमालेका तर्फबाट नेताहरु सम्मिलित कार्यदल बनाइने निर्णय गरेको एमालेले जनाएको छ । स्थायी कमिटी बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताका सन्दर्भमा पछिल्ला दिनमा भएका प्रगतिबारेमा पार्टी अध्यक्ष ओलीले बैठकसमक्ष जानकारी गराएका थिए ।

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार दुबै दलले आन्तरिक छलफल गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसहितका नेताहरुसँग छलफल गरेका थिए ।

पार्टी एकताबारे भोलि थप छलफल हुने दुबै दलका नेताहरुले बताएका छन् । भोलि दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

प्रचण्डसँगको छलफलमा सहभागि एक नेताका अनुसार सम्मानजनक एकतामा जोड दिइएको छ । पार्टीको नेतृत्व र संगठनका विषयमा ठोस टुंगो नलागे सम्म एकता प्रक्रियाले पूर्णता नपाउने भन्दै ती नेताले तत्काल कार्यदल नबन्न पनि सक्ने संकेत गरे ।

उनले यसको टुंगो भोली नै लाग्ने बताए ‘भोली संयोजन समितिको बैठक छ, छलफलमा कुरा उठ्ला सम्मान जनक एकता अगाडि बढे अगाडि बढ्छ नत्र सरकारमा नजाने सम्मको निर्णय पनि हुन सक्छ’, ती नेताले हलकारोसँग भने ।

भोलिको बैठकमा अन्तरिम कालका लागि पार्टीको बैचारिक राजनीतिक लाइन, नेतृत्व तथा संगठनको एकीकरण र मतभेद भएका विषय तथा सामूहिक रुपमा बहस गर्नुपर्ने विषय गरी तीन एजेण्डामा छलफल हुनेछ ।

एमाले महासचिव ईश्वर पोखरेलसहितका नेताहरूको अभिव्यक्तिले संशकित बनेको माअोवादी केन्द्रका नेताहरूको यस्तो अभिव्यक्तिले एकता प्रकृया थप जटिल बन्दै गएको देखिन्छ ।

पोखरेल सहितका एमालेका केही नेताहरुले भने प्रधानमन्त्री र अध्यक्ष दुबै केपी ओली नै हुनुपर्ने मत अघि सारेका छन् । त्यसको काउन्टरमा माओवादीका केही नेताले प्रचण्डलाई अध्यक्ष नबनाए पार्टी एकता नै नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

नेताहरुका अनुसार भोलिको पार्टी एकता संयोजन समितिको बैठकमा बैचारिक र राजनीतिक कुरा पनि हुन्छ, संगठन र नेतृत्वको कुरा पनि हुन्छ ।

त्यहाँ सकारात्मक कुराकानी भयो भने विचार राजनीतिबारे एउटा राजनीतिक समिति र नेतत्व एवं संगठनको कुरा मिलाउन संगठनात्मक कमिटी बन सक्छ’ प्रचण्डनिकट एक नेताले भने, ‘तर, मोटामोटी संयोजन समितिमै टुंगिन्छ, टुंगिनुपर्छ ।’

उनका अनुसार (सरकार र पार्टीको) नेतृत्व र विचारबारे नेतृत्व तहमा मोटामोटी समझदारी भए लिपिवद्ध गर्न कार्यदल बनाउने हो, अन्यथा छलफल लम्बिनेछ र भोलि नै कार्यदल नबन्न पनि सक्छ ।

केपी ओली पर्सि (बुधबार) नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएकाले भोलि नै एकता संयोजन समितिको बैठक ठोस निर्णयमा पुगेन भने एकता प्रक्रिया ओली विदेशबाट फर्केपछि मात्रै अघि बढ्ने नेताहरुले बताएका छन् ।

यी फरक फरक अभिव्यक्तिका कारण बाम एकतामा थप जटिलता सिर्जना भएको छ । एकातिर माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्इ काँग्रेस र मधेसवादी दलका नेताहरू प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन् । अर्को तिर एकताका क्रममा प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष पनि बन्न नपाउने अवस्थामा एकता गर्न नहुने पार्टीभित्रै अावज उठ्दै गएको छ ।

Loading...