इन्टरनेटमा भारतसँगको परनिर्भरता तोडियो

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएको छ । नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेसँगै नेपालको इन्टरनेट सञ्जालमा हालसम्म कायम रहेको भारतको एकाधिकारको समेत औपचारिक रूपमै अन्त्य भएको छ ।

नेपाल टेलिकमले गत वर्ष नै अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथका लागि चीनसँग सम्झौता गरी अप्टिकल फाइभरमार्फत सेवा सञ्चालन गर्न चाइना टेलिकमसँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुरूप अहिले नेपाल चीनको अप्टिकल फाइबर लिंकसँग जोडिन पुगेको हो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको एक वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो ।

यसअघि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंकमा जोडिने विषय बारम्बार पछाडि धकेलिँदै आएको थियो । यसअघि झन्डै एक वर्षअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव भएन ।

नेपालमा चीनबाट आउने इन्टरनेट सञ्जाल रसुवा नाका भएर जोडिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । अघिल्लो वर्षको जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो ।

हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि–रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि–रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो । ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिएका छन्,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिसकेपछि शुक्रबार त्यसको औपचारिक उद्घाटनको कार्यक्रम तय भएको छ ।’ सो स्रोतका अनुसार चिनियाँ इन्टरनेट टेलिकाको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । व्यावसायिक रूपमा भारतीय सेवा प्रदायकसँगभन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महँगो पर्ने टेलिकम स्रोतले बतायो ।

चीनसँगको आबद्धताले अब टेलिकमको इन्टरनेट नेटवर्कलाई हङकङलगायतका अन्य मुलुकमा आबद्ध गर्न समेत सजिलो हुने भएको छ । चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिएको छ । टेलिकमले हालसम्म भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याँदै आएको छ ।

Loading...