नेपाली नागरिक गाइन्जूलाई श्रीलंकामा नागरिक वीरता स्वर्ण पदक

काठमाडौँ । नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित भएका छन् ।
गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गरेका हुन् ।

सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् । नेपालमा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाइन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो । गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उनी भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आएका छन् ।

“गाइन्जूको काम साँच्चै नै प्रशंसनीय छ र त्यो अरुलाई पनि उत्प्रेरित गर्ने उदाहरण बनोस् भनेर पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको छ,” सभामूख जयसूर्याले भने ।

Loading...