देवघाटको विसकामा स्थानीय संघ संस्था

चितवन । धार्मिक हिसाबले मात्रै नभएर सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले समेत देवघाटधाम महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । चितवन, तनहूँ र नवलपरासीको परिधिमा पर्ने देवघाटधाममा कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल हुनाले समेत यसको पौराणिक महत्व पनि रहेको छ ।

देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि स्थानीय संघसंस्थाहरु लागिपरेका छन् । प्रशस्त सम्भावना र ऐतिहासिक महत्व भएर पनि धार्मिक क्षेत्र देवघाटमा धार्मिक पर्यटकको विकास गर्न सकिएको छैन ।

माघे संक्रान्ति र साउनको सोमबार देवघाटमा स्नान गर्न देश विदेशबाट हजारौँ सर्वसाधारणहरु आए पनि प्रचारप्रसारको अभावमा अन्य समयमा देवघाट घुम्न आउनेको संख्या ज्यादै न्यून हुने गरेको पाइन्छ । देवघाटको बेणी संगममा माघे संक्रान्तिका दिन स्नान गरे मनोकाक्षा पूरा हुने विश्वास सहित वेदमा समेत देवघाटधामको महत्व उल्लेख भएको पाइन्छ ।

देवघाटको समग्र विकासका लागि भनेर गठन भएको देवघाट क्षेत्र विकास समितिले पनि सोचेअनुसारको काम गर्न नसक्दा देवघाट धार्मिकरुपमा ओझेलमा परेको महसुस गरिएको छ । सीता भासिएको गुफा, दिनदिनै बढ्ने विश्वास गरिएको शालिग्राम रहेको मन्दिर चक्रवर्ती शीला, श्रीखण्डको बगैंचा रहेको मणिमुकन्दसेन उद्यान पनि देवघाट आउने पर्यटकका लागि आकर्षणको केन्द्र हो ।

देवघाटको वेणी संगममा त्रिकोणात्मक पुल बनेपछि गैंडाकोटको मौलाकालिका मन्दिर र देवघाटलाई पर्यटकीय हिसाबले जोड्न सकिने देवघाट क्षेत्र विकास समितिको विश्वास छ ।

देवघाट क्षेत्रमा तीन वटा ठूला वृद्धाश्रमहरु रहेका छन्, जहाँ नेपालका विभिन्न जिल्लाका ज्येष्ठ नागरिकहरु बस्दै आएका छन् । विशेष त स्कूल कलेजका विद्यार्थीलाई वृद्धाश्रम भ्रमण र अनुभव साँटासाटका कार्यक्रम दिन सकिने हो भने यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने देखिन्छ ।

Loading...