नेमकिपा प्रखर प्रतिपक्षको भूमिकामा रहने

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को २८ औं केन्द्रीय परिषद्ले पार्टी प्रखर प्रतिपक्षको भूमिकामा रहने निर्णय पारित गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षता मंगलबारदेखि तीन दिन आयोजित परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको जनाएको छ ।

परिषद्ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने, भूकम्पपीडितको पुन:स्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिने, बर्सेनि आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए । नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको उनले बताए ।

परिषद्ले पार्टीको ४४ औं स्थापना दिवस (माघ १० गते) लाई पार्टीको इतिहास, गतिविधि प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ । परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्य र सुरेन्द्रराज गोसाईं, सिर्जना सैंजु र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन परिषद्ले सुझावसहित पारित गरेको नेमकिपाले जनाएको अाजको कान्तिपुर दैनिकमा समाचार छ ।

Loading...