भाइरलले थलियो जाजरकोटः १३ जनाको ज्यान गयो

काठमाडौँ । जाजरकोट जिल्लामा पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरो तीन सातासम्म नियन्त्रणमा आउन नसक्दा १३ जनाको ज्यान गइसकेको छ भने २ हजार बिरामी छन् । आठ वर्षअघिको झाडापखाला र हैजाको महामारी होस् वा दुई वर्षअघिको मौसमी रुघाखोकी तथा स्वाइन फ्लु, स्वास्थ्य निकायले समयमै प्रभावकारी नियन्त्रण गर्न नसक्दा जाजरकोटले बर्सेनि ठूलो मानवीय क्षति बेहोर्दै आएको छ ।

सरसफाइको कमी वा रोगप्रतिको लापरबाहीले दुर्गम गाउँबस्तीमा बिरामी पर्नुलाई सामान्य मान्न सकिएला । तर, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले बेलैमा नियन्त्रण गर्न नसक्दा जाजरकोटमा सामान्य रोग फैलिएर प्रकोपको रूप लिने गरेको छ । त्यसले ठूलो मानवीय क्षतिसमेत भइरहेको छ ।

२०६६ सालमा फैलिएको झाडापखाला तथा हैजाको महामारी पूर्ण नियन्त्रणमा आउन झन्डै ६ महिना लागेको थियो । सुरुमा पखालाका रूपमा हेरिएको रोग फैलिँदै महामारी बनेपछि हैजा भएको पत्ता लागेको थियो । जसका कारण ३ सय ५० को ज्यान गयो भने झन्डै ३० हजार बिरामी परे ।

दुई वर्षअघि ०७२ सालमा फैलिएको मौसमी रुघाखोकीको प्रकोप बढेर स्वाइन फ्लुको रूप लियो । दुई महिनासम्म फैलिएको स्वाइन फ्लुको प्रकोपमा २७ जनाको ज्यान गयो भने झन्डै ५ हजार बिरामी परे ।
गत पुस पहिलो सातादेखि जुनीचाँदे १, २, ३ र ११ वडामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । प्रकोप फैलिएको तीन साता बित्दा पनि नियन्त्रणमा आउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग प्रभावित क्षेत्रमा भाइरलबाट बिरामी पर्ने क्रम बढदो छ । जुनीचाँदेमा भाइरलका बिरामी घरघरमा थलिएका छन् ।

भौगोलिक विकटता, सूचना तथा सञ्चारको समस्या, स्रोत साधनको कमीलगायत कारण दुर्गम गाउ‘मा फैलिएका प्रकोप नियन्त्रणमा आउन ढिलाइ हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘रोग प्रभावित क्षेत्रमा चेतनाको कमी छ । सरसफाइ अभाव, दूषित पानीको प्रयोग र पोसिलो खानेकुराको अभावले रोग नियन्त्रणमा समस्या भएको हो,’ उनले भने । बिरामीको स्वास्थ्य सेवाप्रति विश्वासनहुनुले धामीझाँक्रीको भर पर्नु पनि प्रकोप नियन्त्रणमा बाधक रहेको उनले बताए ।

जाजरकोटका नागरिक अगुवा भने दुर्गम गाउँमा फैलिएको प्रकोप लम्बिनुमा स्वास्थ्य निकायको ढिलासुस्ती प्रमुख कारक रहेको बताउँछन् । रोग फैलिएको सूचना सम्बन्धित निकायमा आइपुग्नै दुई साता लाग्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । ‘सूचना प्रवाहका साथै माथिल्लो निकायको निर्देशन आउँदासम्म हप्तौं बित्ने हुनाले प्रभावित क्षेत्रका बिरामीले उपचार नपाई ज्यान गुमाउनुपर्छ,’ शाहले भने ।

जाजरकोटभन्दा विकट र पिछडिएका जिल्लामा तत्काल रोग नियन्त्रणमा आउने तर यहाँ एउटै समस्या दोहोरिइरहेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जाजरकोट खुला दिसामुक्त घोषणा भइसकेको जिल्ला हो । त्यस्तै, १५ वर्षमाथि उमेरका ९५ प्रतिशत जनसंख्या साक्षर छन् । त्यसैले पटक–पटक प्रकोप नियन्त्रणमा हम्मेहम्मे हुनुुलाई गरिबी, चेतना र सरसफाइसँग मात्र जोड्नु सान्दर्भिक नहुने शाह बताउँछन् ।

जनसंख्याको अनुपातमा स्वास्थ्य संस्था न्यून छन् । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् । स्वास्थ्यकर्मी सम्बद्ध संस्थामा जाँदैनन् । विशेषज्ञ चिकित्सा सेवा छैन । त्यसैले रोगको संक्रमण फैलिनासाथ तत्कालै स्वास्थ्यकर्मी परिचालन हुने स्थिति नभएको स्वास्थ्य स्रोत बताउँछ । रोग फैलिएको २/३ दिनमैऔषधि उपचारको व्यवस्था नहुने गर्दा महामारी नियन्त्रणमा ढिलाइ भएको हो ।

जाजरकोटका अधिकांश स्थानीय सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचबाहिर छन् । रोग प्रभावित क्षेत्रबाट मृत्युको सूचना नआएसम्म माथिल्लो निकायले स्वास्थ्यकर्मी र औषधि पठाउँदैनन् । जुनीचाँदेमा फैलिएको भाइरल कुन जीवाणुका कारण भएको भन्नेसमेत पत्ता लगाउन २ हप्ता कुनुपर्ने अवस्था छ । रोग फैलिन नदिन र फैलिएपछि पनि नियन्त्रणका लागि उच्च सतर्कता नअपनाउँदा पटक–पटक महामारीको सास्ती खेप्नुपरेको स्थानीय अगुवा बताउँछन् । भाइरल फैलिएको २ सातापछि मात्र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमापुगेका थिए ।

तीन दिनअघि बिरामीको खकार, सिंगानलगायत नमुना काठमाडौंस्थित ल्याब पठाइएको स्वास्थ्य प्रमुख नेपालीले बताए । ७२ घण्टापछि मात्र नमुना परीक्षणको प्रतिवेदन आउने र त्यसैअनुसार बिरामीको उपचार रणनीति बनाइने उनले जनाए । औषधि खरिदका लागि चालु आर्थिक वर्षका लागि ५ लाख मात्र बजेट भएको उनले बताए । न्यून बजेटका कारण औषधि अभाव हुने गरेको उनले सुनाए । जुनीचाँदेमा फैलिएको भाइरलका बिरामीलाई सञ्चो हुन कम्तीमा १० दिन लाग्ने उनले बताए ।

यसैबीच जिल्लामा क्रियाशील नागरिक संगठनहरूले शुक्रबार जुनीचाँदेमा फैलिएको भाइरलको प्रकोपलाई अविलम्ब नियन्त्रणका लागि सामूहिक अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, सुशासन परियोजना, सुन्दर नेपाल, इन्सेकलगायत संगठनले विज्ञप्तिमार्फत अपिल गरेका हुन् । उनीहरूले जुनीचाँदेमा फैलिएको भाइरल नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनको मागसमेत गरेका छन् ।

विशेषज्ञ चिकित्सकद्वारा उपचार सुरु
विशेषज्ञ चिकित्सकद्वारा शुक्रबारदेखि जुनीचाँदेमा फैलिएको भाइरलका बिरामीको उपचार सुरु भएको छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाबाट आएका बाल रोग विशेषज्ञ डा. नम्रता सिन्दानको टोलीले जुनीचाँदे १, बडकुलेमा बिरामीको उपचार सुरु गरेको हो ।

बडकुलेमा डा. सिन्दान नेतृत्वमा दुई मेडिकल अधिकृतसहित आएको ६ जनाको टोलीले सय जना बिरामीको उपचार गरेको छ । उपचारमा आएका सबै सामान्य मौसमी रुघाखोकीका बिरामी भएको उनले बताइन्् । कडा खालको भाइरलको बिरामी नआएको उनले सुनाइन् । जुनीचाँदेमा बिरामी घटदै गएको उनले बताइन् । शुक्रबार त्यहाँ २ सय बिरामीको उपचार गरिएको थियो । यसअघि १ हजार ५ सय बिरामीको उपचार भइसकेको छ । त्यहाँ ५ चिकित्सकसहित २१ स्वास्थ्यकर्मी परिचालित छन् । जुनीचाँदेको भैरव मावि, बडकुले र डाडाकोट गरी ३ स्थानमा अस्थायी क्याम्प स्थापना गरेर उपचार गरिएको छ । कान्तिपुर दैनिकबाट ।

Loading...