म अनि मेरो सपना

- प्रमिला कार्की

मैले देखेको सपना, हजारौँ त्यी सपना, नँया नँया सपना, दिनहु परिवर्तित बन्दै आँखा वरिपरि छाइरहने सपना, आँफैले सजाएका सपना, अरुमा देखेर सजिएका सपना । कहिले नर्स बन्ने सपना, कहिले शिक्षिका बन्ने सपना, कहिले आकाशमा उडेर चन्द्रमा छुने सपना, कहिले यहि धर्तीमा बसेर शिखर चुम्ने सपना । सपनै सपनाको महल जहाँ म आँफूले आँफूलाई हरेक दिन एउटा छुट्टा छुट्टै ठाँउ र पेशामा राखेर तौलीरहन्थे तर जीन्दगीको मेरो सपना यो भनि आँफूलाई निश्चित रुपमा राख्नै सक्दिनथेँ ।

दिनहुँ आँखा वरिपरी छाउने छुट्टा छुट्टै मेरा सपनाहरुले कहिले आँफूलाई चरी बनी खुल्ला आकाशमा उड्न प्रेरित गर्थेँ, कहिले नागबेली जस्तै यही धर्तीमा फैलिन प्रेरित गर्थेँ । कहिले यो मन हलुको बन्थ्यो कहिले यो मन ढुङगा जस्तै गह्रौँ हुन्थ्यो । तर हरेक दिन मेरा आँखामा छाउने नयाँ नयाँ सपनाले मलाई सत्यको बाटो रोज्न प्रेरित गरिरहन्थ्यो । अन्यायको बिरुद्ध आवाज उठाउन, गलत कुरालाई वकालत गर्न । सपनै सपनाको माजमा एउटै सपना बन्न थाल्यो असल मान्छे बन्नु छ जीन्दगीमा । असल चरित्रहरुले यो समाजमा छुट्टै एउटा चित्र कोर्ने मेरो सपना ।

कडा स्वभाव मेरो तर मन एैना जस्तै छर्लङग, म झुट बोल्न जान्दिन् । थोरैसंग घुलमिल हुने तर छिट्टै अरुलाई आफ्नो सम्झिने बानी छ मेरो । धेरैको नजरमा म छुच्ची जस्तै देखिन्छु । किनकी म जे देख्यो त्यो अगाडि नै भनिदिन्छु वा त्यस्तै भईदिन्छु । गल्ती नगर्ने र बिना गल्ती अरुको सामु नझुक्ने मेरो बानी । विश्वास घात गर्नेहरुलाई म छिट्टै माफि दिनै सक्दिन । जसको कारणले मलाई धेरैले छुच्ची र घमण्डी भन्छन् । आफ्नो आत्मा सम्मानलाई गिराएर अरुको नजरमा झुक्न जानिन् मैले । त्यसैले होला धेरैको लागि म नराम्रो देखिन्छु तर मलाई नजिकबाट चिन्ने र बुझ्नेको नजरमा भने म राम्रो र इमानदारी छु जस्तो लाग्छ मलाई ।

सामान्य परिवारमा जन्मिएकी हुँ । मेरो बाल्यकाल गाँउले परिवेश मै बितेको हो । सानै देखि विद्यालय जान रुचाउने म, गाउँकै विद्यालयबाट मैले चार कक्षासम्मको शिक्षा लिएकी हुँ । आजको जस्तो विकसित भैसकेको थिएन गाउँघर टाढा टाढा विद्यालय एक डेढ घण्टा हिँडेर जानु पथ्र्यो तर म विद्यालय सँधै जान्थेँ । शिक्षक शिक्षिका सबैले धेरै माया गर्नु हुन्थ्यो म राम्रै विद्यार्थीको संख्यामा पर्थेँ । त्यो बालापन, हिडेर विद्यालय पुगेको, घर फर्किदाँ बाटोमा लप्सी, अमला, निबुवा, जुनार, सुन्तला, काँक्रा चोर्दै खाएको । कति मिठा थिए त्यी पलहरु साना साना खुसीले पनि संसार जितेको महशुश हुन्थ्यो । सम्झिँदा रमाइलो पल कक्षामा शिक्षक शिक्षिकाको अनुपस्थितिमा पाले दाईले चउरीमा गोलो घेरा बनाएर गणितको ‘दुनोट’ पढाएको, भन्न नसक्दा ‘पिपिरी’का सिर्कानाले हिर्काएर शरीरमा शुम्ला बसाएको, कक्षामा शिक्षक नहुदा जङगलमा गएर लप्सी खोजेको, कहिलेकाही पालेदाईले सातो जानेगरी तर्साएको त्यी पलहरु हिजो जस्तो लाग्छ मलाई ।

सायद ९ वर्षको थिए होला काठमाडौँ आउँदा म । सबै परिवार काठमाडौँमा नै भएका कारण म ९ वर्ष देखि काठमाडौँमा बस्दै आएको छु । मेरो काठमाडौँको बसाईक्रममा २ वटा विद्यालय फेरिए । पहिलो विद्यालय जहाँ म दुई कक्षामा भर्ना भएकी थिएँ, त्यहाँ म चार कक्षा सम्म पढेँ । मैले एसएलसी सम्मको पढाई अर्को विद्यालयबाट पूरा गरेँ । विद्यालयको पहिलो दिन सबै कुरा नौलो थियो मेरो लागि ठाउँ नयाँ, विद्यालय नयाँ, साथीहरु नयाँ, शिक्षक शिक्षिका नयाँ सबै नयाँ त्यो परिवेशमा आँफूलाई घुलमिल गराउन केही समय लागेको थियो तर विस्तारै आँफूलाई मैले त्यो वातावरणमा ढालिसकेको थिएँ । हरेक दिन म विद्यालय जान्थे सकेसम्म कुनै पनि कक्षा नछुटोस भन्ने चाहान्थँे । सुरुमा मेरो पढाई राम्रै थियो र राम्रै विद्यार्थीमा नै पर्थेँ म । बीचमा मेरो विद्यालय फेरि परिवर्तन भयो र सबै कुरा नौलो भयो । त्यहाँ फेरि आँफूलाई घुलमिल गराउन भने केही समय पक्कै लाग्यो ।

मेरो पढाई त्यती राम्रो हुन सकेन सायद बारम्बार विद्यालय परिवर्तन भएर पनि होला । पढाईमा म राम्रोबाट मध्यम तिर झरेँ । अंग्रेजी भन्दा नेपाली विषय सरल लाग्ने हुँदा मलाई नेपाली विषय धेरै मनपथ्र्यो । नेपाली बाहेक सबै विषय अंग्रेजीमा भएका कारण मलाई पढाईमा धेरै गाह्रो हुन्थ्यो । सानो सानो कुरा पनि बुझ्न धेरै गाह्रो हुन्थ्यो जसले गर्दा पढाईमा धेरै समस्या झेल्नु प¥यो मैले । पढाइमा कमजोर भएकै कारण शिक्षक शिक्षिकाले सोधेको कुरा भन्न नसक्दा धेरै सजाए पनि पाएकी छु मैले ।

मेहेनत नगर्ने हैन धेरै मेहेनत गर्थे तर मेहेनत गरे अनुसारको सफलता पाउनै सक्दैनथेँ । नजान्ने भन्दा जान्ने विद्यार्थीहरु नै प्यारा हुन्छन् शिक्षक शिक्षिकाको नजरमा त्यसैले नेपाली शिक्षक बाहेक अरुको नजरमा म कहिल्यै राम्रो बन्न सकिन ।

अंगे्रजीमा निबन्ध भन्न नसक्दा शिक्षिकाले हातमा हानेको चालीस डस्टरले मेरा त्यी कलिला हातहरु तीन दिनसम्म चलाउन नसक्ने भएका थिए । विज्ञानको शुत्र भन्न नजान्दा शिक्षिकाले कक्षाबाट बाहिर निकालदिँदा शौचालयमा बसेर धेरै रोएकी थिएँ म । कहिले त डराएर आँफूलाई आउने कुरा पनि भन्न सक्दैनथे । हामी नेपालीको बानी सानो गल्ती हुँदा पनि हाँसिदिने जसले आएको कुरा पनि भन्न असहज बनाइ दिन्थ्यो । कक्षा १० मा पढ्दा विज्ञान पढाउने शिक्षक जो मसंग नबोली मलाई व्यवास्था गर्थे । विद्यालयमा हुँदा भोग्नुपरेका यी विभिन्न सजाए र समस्याले जीन्दगीमा धेरै कुरा सिकाउँदो रहेछ ।

विद्यार्थीको मनोवल भन्दा पनि सजायमा विस्वास गर्ने शिक्षक शिक्षिकाहरु जसले मेरो मनोबल र कमजोरीको कारण कहिल्यै बुझ्न चाहेनन् । उनीहरुको नजरमा म राम्रो बन्न सकिन होला तर मैले आँफूलाई राम्रो बनाउन धेरै मेहेनत भने गरेकी थिए । हाम्रो यो समाज कमजोरलाई हैन सबललाई रोज्छ तर कमजोरलाई सबल बनाउन खोज्दैन । शिक्षक शिक्षिकाको धर्म, जान्नेलाई पहिलो बनाउने मात्र हैन नजान्नेलाई बुझाउन सक्नु पनि हो । बुझाएर सक्षम बनाउनु पनि उनीहरुको धर्म हो । कमजोर विद्यार्थीको मनोदशा पहिल्याएर उसको मनोबल बढाउनु पनि हो । असमानतालाई हटाएर समानताको पाठ सिकाउने गुरुले नै पक्षपात गर्छन भने त्यहाँ समानता खोज्नु बेकार छ । एउटै गमलामा रोपिएका फूलहरु कुनै फूल्छन त कुनै फूल्दैनन् तर फूल्न नसकेका फूलहरुलाई मलजल गरेर फूलाउन सकियो भने त्यसले छुट्टै शोभा दिन्छ ।

जीवनको गहिराहिलाई जति बुझ्न चाह्यो त्यती कठिन हुँदोरहेछ । कहिले हाँसो, कहिले आँशु, कहिले उकाली, कहिले ओराली त जीन्दगीको रीत रैछ । बाच्नलाई संघर्ष गर्नै पर्छ, सपना पूरा गर्न यथार्थलाई बुझ्नै पर्छ । संघर्ष नगरी सफलता त कहाँ पाइन्छ र ? भनिन्छ, ‘ढुङगाको काप फोरेरै त उम्रन्छ पिपल ।’

दुःखसुख गर्दै मैले एस.एल.सी पास गरेँ । त्यसपछि मेरो उच्च शिक्षा तर्फको यात्रा अगाडि बढ्यो । मानविकी संकायमा समाजशास्त्र र पत्रकारीता विषय लिएर स्नातक गरेँ । सबैभन्दा कमजोर र थोरै नम्बर ल्याउने विद्यार्थीले पढ्ने विषय भनेर छुटाइन्छन् यी विषयलाई । स्नातक पढ्ने क्रममा शिक्षक शिक्षिकाबाट पाएको माया र हौसला जसले मलाई जीन्दगीमा अगाडि बढाउन प्रेरित गराउँथ्यो । हार नै जीन्दगीको सफलता हो । जितिन्छ अवश्य एकदिन तर हारिन्छ भनेर संघर्ष गर्न छोड्नु हुन्न भन्ने ममा थियो । सजिलै जितेको जितमा कँहा मज्जा हुन्छ र ? जति दुःख गरेर जितेको जितमा हुन्छ । मेरा आदरणीय गुरु गुरुआमाको माया, साथ, हौसला र ज्ञानले मलाई आफ्ना सपनाहरु सजाउन र त्यसलाई पूरा गर्न प्रेरित गराउथ्यो ।

स्नातक पढ्दै गर्दा मैले केही ठाउँहरुमा काम पनि गरे तर मैले गरेको कामबाट म आँफै खुशी थिइन । हरेक दिन प्रस्ताव आँउथे यसो गर उसो गर हामीले भनेको जस्तो गर्दै जाऊ तिम्रो भविष्य बन्छ तर मलाई झुट बोलेर र आफ्नो इमान गुमाएर पैसा कमाउनु थिएन । मेरो कडा स्वभाव र अन्याय सहन नसक्ने बानीले धेरैको नजरमा घमण्डी बनाइदिन्थ्यो । कैयौँले केटी त हो जे गरेनी के गर्न सक्छ र भन्ने जस्तै गर्थे । मेरो स्वभाव धेरैलाई राम्रो लाग्दैनथ्यो । प्रस्ताव धेरै आउथेँ तर स्वार्थले भरिएका जसलाई म अस्वीकार गरिदिन्थेँ र गर्छु ।
हाल म स्नाकोत्तरको चौथो अथवा अन्त्यम सेमेष्टरमा अध्ययनरत छु । आँखाले देखेर, मनले कल्पेर र दिमागले सोचेर मात्र सपनाहरु कहाँ पुरा हुन्छन र ? सपना पुरा गर्न यथार्थमा जीउनु पर्छ थाहा छ मलाई तर यहाँ म कुनै बाटाहरु नै देख्दिन । आफन्तवाद र नातावादले ग्रस्त हाम्रो यो समाजमा कि त आँफू धनी भएर जन्मिनु पर्दो रहेछ । कि त गलतलाई पनि सही भनेर हिड्नु पर्दो रहेछ । राम्रो काम गरेर र सत्य बोलेर यहाँ बाच्नलाई धेरै गाह्रो छ । मेरो जीन्दगीको सपना कुनै जुन–तारा छुन्छु भन्ने छैन तर असल मान्छे बनेर बाच्नु छ मलाई । संघर्ष गर्न चाहान्छु तर अरुको अन्याय र अत्याचार सहेर बाँच्न सक्दिन म । छोरी हुँ म गर्व गर्छु छोरी हुनुमा । नारीहरु कमजोर हुन्छन भनेर हेप्नेहरु प्रति घृणा हैन दया लाग्छ आज भोली मलाई ।

Loading...