सरकारले तोकेको मूल्य पनि पाँउदैनन् उँखु किसान

नवलपुर । नवलपरासीका उखु किसान सस्तो मूल्यमा उँखु बिक्री गर्न बाध्य भएका छन् । सरकारले गतवर्ष तोकेको उखुको मूल्य पनि नपाएपछि उँखु किसान सस्तोमा बिक्री गर्न बाध्य भएका हुन् ।

नवलपरासीका किसानलाई उँखु बिक्री गर्न समस्या परेको हो । यहाँका किसानले उँखु बिक्री नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तोमा उँखु बिक्री गर्न बाध्य थिए । गतवर्ष तोकेको ५ सय ३१ रुपैयाँ २० पैसा प्रतिक्वीन्टल उँखुको मूल्यभन्दा धेरै कम ३ सय ६० देखि ४ सय रुपैयाँसम्ममा उँखु बिक्री गर्नुपरेको किसानको गुनासो छ ।

उँखु खेती राम्रो भए पनि त्यसको उचित मूल्य नपाएपछि उँखु किसानले विकल्पको खोजी गरेको समेत बताउँछन् । उँखु सिजनमै मिल स्थानान्तरण भएपछि व्यवसायिक रुपमा उखु खेती गर्दै आएका किसान मारमा परेका हुन् । सुनवलस्थित चिनी मिलले किसानको उँखु खरिद गर्न ढुवानी खर्च बढि पर्ने भएपछि स्थानीय उँखु किसान विकल्पको खोजीमा छन् ।

केहीदिन यता सुनवलस्थित चिनी मिलले किसानको उँखु खरिद गरेपछि केही राहत मिलेको बताइएको छ । धेरै उँखु उत्पादन गर्ने किसानले भने आफ्नै जग्गामा घरेलु भेली क्रसर उद्योग स्थापना गरेर संचालन गर्न बाध्य छन । सिंचाई सुविधा नभएपछि जिल्लाको पश्चिमी क्षेत्रका किसानले व्यवसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उनीहरुको आयस्रोतको मुख्य माध्यम नै उखु खेती रहेको छ । तर अब भने यसको विकल्प खोजी गरिरहेका छन् ।

आफनै ठाँउमा संचालनमा रहेको महालक्ष्मी सुगर्स मिल नहुँदा जिल्लाका हजारौं उँखु कृषक मारमा परेको किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीको भनाइ छ ।

Loading...