चितवन उद्योग संघको दुई वर्षे कार्ययोजनाः प्रदर्शनी केन्द्रलाई पूर्णतादेखि औद्योगिक प्राविधिक शिक्षालयसम्म

चितवन । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघले महत्वपूर्ण २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा गरेको छ । चितवनको कसरामा दुई दिन सम्म चलेको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठीले महत्वपूर्ण कार्ययोजनाको रुपमा निर्माणधिन चितवन प्रर्दशनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय स्थापनालाई प्राथमिकतामा राखेको छ ।

२०७४÷७६ को कार्यकालमा चितवन प्रदर्शनी केन्द्रलाई पूर्ण रुपमा निर्माण सम्पन्न गरि नियमित संचालन गर्ने, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण प्रक्रिया र औद्योगिक प्राविधिक शिक्षालय निर्माण गर्ने गरि कार्ययोजना बनाईएको संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । “दुई वर्षे कार्यकालमा धेरै काम गर्नुपर्ने छ, मूख्य कार्यक्रमको रुपमा प्रदर्शनी केन्द्र, औद्योगिक क्षेत्र र प्राविधिक शिक्षालयलाई अघि बढाएका छौं”–अध्यक्ष दुवाडीले भन्नुभयो ।

भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघकै परिसरमा अहिले चितवन प्रदर्शनी केन्द्रको निर्माण कार्य चलिरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै जिल्लाको जुगेडीस्थित जुरेथुम्कामा संघको स्वामित्वमा रहेको ५ बिघा क्षेत्रफल जमिनमा औद्योगिक प्राविधिक शिक्षालय स्थापना गर्न मास्टर प्लान बनाउने गरि काम अघि बढाईने संघका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो ।

यसैगरि संघले विगतका वर्षहरुमा गर्दै आईरहेको राष्ट्रिय आद्योगिक प्रदर्शनीलाई यसवर्ष पनि गर्ने भएको छ । प्रत्येक दुई–दुई वर्षमा गर्दै आईरहेको प्रदर्शनी यसवर्ष आउँदो चैत्र महिनाको दोस्रो सातादेखि गर्ने तय भएको संघका उपाध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

चितवन उद्योग संघले औद्योगिक सूचना केन्द्रको स्थापना, कर्मचारीहरुलाई दक्ष बनाउन तालिमको आयोजना जस्ता अन्य थुप्रै कार्ययोजना तयार पारेको छ । संघले औद्योगिक व्यवसायसंग आकर्षित औद्योगिक नीति बनाउन संघको प्रतिनिधि पठाउने समेत निर्णय गरेको छ ।

यसैबीच संघले ६ जना उपाध्यक्षहरुको कार्यविभाजन समेत गरेको छ । गर्भनिङ काउन्सीलको सहयोगमा संघका अध्यक्ष भेषराज दुवाडीले ६ जना उपाध्यहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको हो ।

संघले उपाध्यक्ष त्रिलोचन कँडेललाई संगठन तथा योजना विभाग, उपाध्यक्ष राजु पौडेललाई समन्व र सम्बन्ध विस्तार विभाग, उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई उद्योग तथा औद्योगिक प्रवद्र्धन विभाग, उपाध्यक्ष लक्ष्मण अर्याललाई सचिवालय तथा कर्मचारी प्रशासन विभाग, उपाध्यक्ष मदन घिमिरेलाई आर्थिक प्रशासन विभाग र उपाध्यक्ष प्रतिभा श्रेष्ठलाई वस्तुगत, महिला एवंम युवा उद्यमी समन्वय विभागको जिम्मेवारी प्रदान गरेको छ ।

संघको गत पुस २१ गते भएको साधारण सभा तथा अधिवेशनले भेषराज दुवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो । यस पटक विधान संशोधन गरि ६ जना उपाध्यक्ष पद बनाईएको थियो । यसअघि हुने गरेको महासचिव र कोषाध्यक्षको जिम्मेवारी आफ्नो विभागमा परेका उपाध्यक्षले पुरा गर्नेछ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवंम चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, गर्भनिङ काउन्सीलका संयोजक ताराप्रसाद पौडेल, पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी र गुणाकर खरेलले संघका पदाधिकारी र सदस्यहरुलाई संघको गरिमा र जिम्मेवारी बोध गराउनुभएको थियो ।

चितवन उद्योग संघले प्रदेशको नेतृत्व गर्न सक्छः अध्यक्ष शर्मा
यसैबीच नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले चितवन उद्योग संघले समग्र प्रदेश नम्बर ३ को नेतृत्व गर्ने बेला आएको बताउनुभएको छ । चितवन उद्योग संघको कार्ययोजना गोष्ठीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले चितवनको मात्र नभई देशलाई नै आर्थिक समृद्ध बनाउन चितवन उद्योग संघले महत्वपूर्ण भुमिका खेल्दै आईरहेकोले अब प्रदेशको नेतृत्व गर्ने बेला आएको बताउनुभयो । उहाँले चितवनमा निर्माणधिन चितवन प्रदर्शनी केन्द्र र निर्माणको चरणमा रहेको शक्तिखोर औद्योगिक क्षेत्र चितवन उद्योग संघकै नेतृत्वमा भएको स्मरण गर्दै यस प्रदेशको आर्थिक हबको रुपमा चितवन स्थापित हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग परिसंघले प्रदेशको नेतृत्व गर्न संघलाई दिए चितवन उद्योग संघ तयार रहेको बताउनुभयो । उहाँले यहाँका उद्यमीहरु देशलाई समृद्ध बनाउन लागि परेको भन्दै समग्र प्रदेशकै नेतृत्व गर्न सक्ने अवस्थामा चितवन उद्योग संघ रहेको बताउनुभयो ।

उद्योग परिसंघ चितवन उद्योग संघको छाता संगठन हो । चितवन उद्योग संघले चितवन प्रदर्शनी केन्द्र निर्माण गरिरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको निर्माणको चरण र प्राविधिक शिक्षालय बनाउने तयारीमा जुटेको छ ।

Loading...