पार्टी एकताका लागि विचार धारा र सैद्धान्तिक सहमति खोज्न एमालले कार्यदल बनाउने

काठमाडौँ । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने भएको छ । सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको छ । पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।

सचिव भट्टराईका अनुसार पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको छ हो ।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उनले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी बैठकले सात वटा प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो । बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ ।

Loading...