अर्फ्रिकी मुलुक बेनिनसँग नेपालको कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक बेनिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएसँगै विश्वका १ सय ५७ राष्ट्रसँग नेपालको सम्बन्ध विस्तार भएको छ।

बुधबार संयुक्त राष्ट्रसंघका लागि नेपाल र बेनिनका स्थायी प्रतिनिधिद्वय दुर्गाप्रसाद भट्टराई र जेन क्लाउदी डो रेगोले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा हस्ताक्षर गरेका छन्।

न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपाली नियोगमा भएको उक्त कार्यक्रममा दुवै देशका राजदूतहरुले पारस्परिक सम्बन्ध विस्तारका साथै संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो बर्ष मात्रै नेपालले दर्जनबढी राष्ट्रसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयका लागि नेपाली स्थायी प्रतिनिधि भट्टराईले एक बर्षको बीचमा दर्जनबढी मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापित गर्ने कीर्तिमान राखेका छन्।

एउटै राजदूतको कार्यकालमा एक वर्षको अवधिमा यति धेरै मुलुकसँग कुटनीतिक सम्बन्ध कायम भएको यो पहिलो रेकर्ड हो।

अंग्रेजी नयाँ वर्षको सुरुवात हुनुभन्दा केही दिन अघि मात्रै पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोसँग नेपालले कुटनीतिक सम्बन्ध कायम गर्ने सहमतिमा हस्ताक्षर गरेको थियो।

Loading...