सिमेन्ट उद्योगको ठगीः १२० रूपैयाँ बढाएर २२ रूपैयाँ घटाउँदै

काठमाडौँ । अस्वाभाविक रूपमा १५ दिनमा पाँचपटकसम्म मूल्य वृद्धि गरेका सिमेन्ट उद्योगीलाई सरकारले कारबाहीका लागि चासो नदेखाएपछि उद्योगीहरूले मनोमानी शुल्क घटाएको घोषणा गर्न थालेका छन् । १५ दिनको अवधिमा प्रतिबोरा १२० रुपैयाँ मूल्य बढाएको शिवम् सिमेन्टले सरकारलाई पत्र लेख्दै २२ रुपैयाँ मूल्य घटाएको जानकारी गराएको अाजको राजधानी दैनिकमा समाचार छ ।

मूल्य वृद्धि गरेको जानकारी नगराउने उद्योगीहरूले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन थालेपछि कारबाहीबाट बच्न बढाएको मूल्यको सानो अंश घटाएको जानकारी गराएको हो । सिमेन्ट उद्योगीले प्रतिबोरा सिमेन्टको मूल्य २२ रुपैयाँ मात्रै घटाएकोमा उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति व्यक्त गर्दै सिमेन्ट उद्योगीले ठगीको अर्को प्रपञ्च सुरु गरेको बताएका छन् ।

सिमेन्ट उद्योगीहरूले सिमेन्टमा प्रतिबोरा १७ प्रतिशतसम्म मूल्य बढाएका छन् । मंसिर अन्तिम साता प्रतिबोरा ७९० रुपैयाँका दरले रहेको सिवम् सिमेन्टको मूल्य पछिल्लो समय प्रतिबोरा ९१० रुपैयाँ पुगेको थियो । बुधबारबाट २२ रुपैयाँका दरले मूल्य घटेसँगै सिवम् सिमेन्टको मूल्य प्रतिबोरा ८८८ रुपैयाँ पुगेको छ ।

सिवम् सिमेन्टले २२ रुपैयाँ मात्रै मूल्य घटाए पनि अन्य सिमेन्ट र डन्डीमा रहेको ठगी भने उस्तै छ । मारुती सिमेन्टले ७८० रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ८३० रुपैयाँ पु¥याएको छ । त्यस्तै, निर्माण सिमेन्टले प्रतिबोरा ६४० रुपैयाँबाट मूल्य वृद्धि गर्दै ७२० रुपैयाँ प्रतिबोरा पु¥याएको छ ।

त्यस्तै, अग्नि सिमेन्टले ६५५ रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ७२४ रुपैयाँ पु¥याएको छ । त्यसैगरी, हेटौंडा सिमेन्टले प्रतिबोरा ७९५ बाट ८९८ रुपैयाँ प्रतिबोरा पु¥याएको छ । त्यस्तै, शालीमार सिमेन्टले ७५० रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ८७० रुपैयाँ पु¥याएको छ । त्यस्तै, अम्बे सिमेन्टले प्रतिबोरा ६५० रुपैयाँबाट मूल्य वृद्धि गर्दै ७६० पु¥याएको छ ।

प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएका डन्डी उद्योगहरूले भने मूल्य घटाएको सम्बन्धमा विभागलाई कुनै पनि जानकारी नगराएको विभागका अधिकारीहरूको भनाइ छ । उनीहरूलाई निगरानीमा राखिने र पुनः अनुमगन जारी रहने विभागको भनाइ छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्टको मूल्य नघटाउने उद्योगलाई कारर्बाही गर्ने बताए पनि यसको प्रक्रिया भने सुरु भएको छैन ।उनले तीन दिनभित्र मूल्य घटाउन अल्टिमेटम दिएको बताए पनि त्यस अवधिमा नघटाउने उद्योगीलाई कस्तो कारबाही हुने भन्ने विषय भने खुलाएनन् ।
‘हामीले तीन दिनभित्र सिमेन्टको मूल्य घटाउन निर्देशन दिएका थियौं,’ उनले भने, ‘संकेतका रूपमा एउटाले भए पनि घटाएको जानकारी गराएको छ । मूल्य नघटाउने उद्योगीलाई हामी कारबाही गर्छौं ।’ बिहीबारसम्म अन्य उद्योगले पनि मूल्य घटाएको जानकारी नगराए विभागले थप कारबाही अघि बढाउने महानिर्देशक दाहाल बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीले भने सिमेन्ट र डन्डीमा ठगी गर्ने व्यवसायी र उद्योगीलाई सरकारले कारबाही नगरेर प्र्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सिमेन्ट उद्योगीले प्रतिबोरा १२० रुपैयाँका दरले मूल्य वृद्धि गरेर २२ रुपैयाँ मात्रै घटाउनु ठगीको अर्को प्रपञ्च सुरु भएको बताए । उनले सिमेन्ट उद्योगी र अनुगमनकारी निकायको मिलेमतोमा सिमेन्ट उद्योगीले ठगीको अर्को प्रपञ्च सुरु
गरेका बताए ।
सरकारी निकायले सिमेन्टको मूल्य ‘अस्वाभाविक रूपमा बिना कारण वृद्धि भएको पुष्टि गरिसकेपछि सम्बन्धित उद्योगीलाई जरिवाना गर्नुपर्ने हो कि ? मूल्य घटाउनका लागि निर्देशन दिने हो ?’ उनले भने ।
विभागले सिमेन्टमा अस्वाभाविक मूल्य बढेको निष्कर्ष निकालेपछि कारबाही प्रक्रिया अघि बढाउनु पर्नेमा मूल्य वृद्धि फिर्ता गर्न निर्देशन मात्र दिएर विभागले उद्योगीको संरक्षण गरेको उनको भनाइ छ ।
सिमेन्ट उद्योग संघले सबै सिमेन्ट उद्योगीहरूलाई नाफा घाटा केही नहेरी वृद्धि भएको मूल्य फिर्ता लिन सम्बन्धित उद्योगीलाई पत्राचार गरिसकेकाले सबै उद्योगले मूल्य घटाउने जानकारी दिएको छ । सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले सबै सिमेन्ट उद्योगीलाई मूल्य फिर्ता लिन निर्देशन दिइसकेकाले दुई तीन दिनभित्रै सबै उद्योगीले वृद्धि भएको मूल्य फिर्ता लिने दाबी गरे ।

Loading...