रोजगारीका लागि कुवेत पुगेका ३१ नेपालीले एक वर्षमा ज्यान गुमाए

काठमाडौँ । रोजगारीका लागि कुवेत पुगेका ३१ नेपालीले एक वर्षभित्र ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा ३१ नेपालीले ज्यान गुमाएका हुन् । दूतावासका अनुसार नेपालीको शवसमेत पठाउन दूतावासले सहयोग पु¥याएको छ । गत वर्ष कुवेतमा मृत्यु हुनेमा १५ पुरुष र १६ महिला रहेको दूतावासले जनाएको छ । गत वर्ष दूतावासले त्यहाँको सरकार र कम्पनीसँग कानुनी लडाइ“ लडी मृतक नेपालीका लागि सवा पाँच करोड बढी क्षतिपूर्तिसमेत दिलाएको छ ।

दूतावासले ५ करोड २६ लाख ४३ हजार रुपैयाँ मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरूप उपलब्ध गराउन नेपाल पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दूतावासबाट प्राप्त रकम मृतकका आफन्तलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध

गराइएको छ । त्यस्तै सन् २०१७ मा १५५ महिलालाई कुवेतबाट उद्धार गरिएको छ । रोजगारीका लागि विभिन्न बाटोबाट कुवेत पुगेका, त्यहाँ अलपत्र र समस्यामा परेका ती महिलालाई उद्दार गरी नेपाल पठाएको कुवेतस्थित नेपाली राजदूत यज्ञबहादुर हमालले जानकारी दिए । यसैगरी सोही अवधिमा दूतावासले विभिन्न रोगका कारण गम्भीर अवस्थामा रहेका १७ नेपालीलाई उद्धार गरी उपचारपश्चात् नेपाल पठाएको छ ।

दूतावासले कुवेतको जेलमा रहेका नेपालीको उद्धारका लागि कानुनी लडाइ“ लडिरहेको छ । गत वर्ष कुवेतका जेलमा रहेका १८ नेपालीलाई माफी दिलाउन आफू सफल भएको दूतावासले जनाएको छ । जसमध्ये ६ नेपाली फर्किसकेका छन् । १२ जना नेपालीको सजाय कम भएको छ । उनीहरूसमेत सो सजाय काटेर नेपाल फर्कने व्यवस्था दूतावासले मिलाउने जनाएको छ । हाल कुवेतका विभिन्न कारगारमा ७० नेपाली छन् ।

उनीहरूको सजाय माफी गरिदिन राजदूत हमालले कुवेत सरकारका उच्चअधिकारीसँग विभिन्न समय भेट गरी आग्रह गरेका थिए । जेलमा रहेका नेपालीको पक्षमासमेत कानुनी लडाइ“ लड्न दूतावासले सहयोग गर्दै आएको छ ।

यता कुवेतमा गैरकानुनी रूपमा बसिरहेका नेपाली कामदारलाई नेपाल फिर्ताका लागि दूतावासले सहजीकरण गरिरहेको छ । १ वर्षमा कुवेतस्थित दूतावासबाट १ हजार ८४० नेपाली कामदारलाई यात्रा अनुमतिपत्र जारी भएको छ । कुवेत सरकारबाट नेपाल फिर्ता पठाउने अवस्थामा रहेका उनीहरूलाई दूतावासले आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाल फिर्ताका लागि सहजीकरण गरेको अाजको राजधानी दैनिकमा समाचार छ ।

Loading...