विद्यालय भवन निर्माणका लागि साउदीबाट एक लाख बढी सहयोग

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती माविको भवन निर्माणका लागि साउदी अरबमा कार्यरत नेपालीहरूले सहयोग गरेका छन् । समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा विद्यालयको भवन निर्माणका लागि त्यहाँ कार्यरत भूपु विद्यार्थीहरूले एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ ।

विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । विद्यालय भवन निर्माणका लागि हालसम्म करिब रु एक करोड ८० लाखभन्दा बढी खर्च भइसकेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग भए पनि बाँकी सबै चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

Loading...