सन्दीपका लागि अर्को संयोगः अष्ट्रेलियन पूर्वकप्तान पोन्टिङको प्रशीक्षण र म्याक्सवेलसँग खेल

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटका लागि दिल्ली डेयर डेबिल्सले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलार्इ किनेको छ । योसँगै अब उनी विश्वका उत्कृष्ट क्रिकेटरसँग खेल्न पाउने भएका छन् ।

अष्ट्रेलियन खेलाडी माइकल क्लार्कका प्रिय सन्दीपका लागि दिल्लीमा अनुबन्धित हुनु अर्को संयोग बनेको छ । अब उनी अष्ट्रेलियन पूर्व क्रिकेटर रिकी पोन्टिङको प्रशीक्षणमा अाफ्नो खेलकौशल निखार्न पाउने छन् ।

दिल्लीका मुख्य प्रशिक्षक अष्ट्रेलियन पूर्व क्रिकेटर रिकी पोन्टिङ हुन् । उनी सन्दीपलार्इ टिममा भित्राउने अक्सनमा सहभागि समेत भएका थिए । उनी अष्ट्रेलियाका लागि विश्वकप जिताउने कप्तान हुन् ।

सन्दीपले अब दिल्लीमा रहँदा अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलसँग पनि खेल्न पाउने छन् । म्याक्सवेललार्इ दिल्लीले ९ करोड भारुमा टिममा भित्राएको छ ।

जिएमआर समूहको दिल्लीमा भारतका पुराना ओपनर ब्याट्सम्यान गौतम गम्भीर पनि छन् । दिल्लीले म्याक्सवेल वा गम्भीर मध्ये एक जनालाई कप्तान बनाउने छ । म्याक्सवेल कप्तान बनेमा अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कका प्रिय पात्र सन्दीपले अष्ट्रेलियन प्रशिक्षक र अष्ट्रेलियन खेलाडीकै छत्रछायामा आफ्नो खेल कौशल सुधार्ने मौका पाउने छन् ।

हङकङमा आफ्नो टिमबाट खेलाएको क्लार्कले सन्दीपका लागि अष्ट्रेलियामा अभ्यास गर्ने अवसर समेत दिलाएका थिए । सन्दीप दिल्लीमा छानिएकोमा क्लार्कले खुसी व्यक्त गर्दै बधाईसमेत दिएका छन् ।

Loading...