भरतपुर अस्पतालमा पाँच सुत्केरीको मृत्यु: सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’

पछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको मृत्यु भएको’ अस्पतालको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय पुगेको सो गोप्य प्रतिवेदनको खुलासा ।

चितवन । २०७४ असोज, कात्तिक र मंसीरमा भरतपुर अस्पतालमा सुत्केरी गराउन आएका पाँच महिलाको ज्यान गयो । उनीहरू २१ देखि २८ वर्षसम्मका थिए । यो मृत्युबारे अस्पतालले औपचारिक रूपमा केही भनेको छैन । बरु सकेसम्म तथ्यहरू लुकाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनीले उल्टै हप्कीदप्कीको भाषा प्रयोग गरे । उनले भने, “जसरी मरे पनि तपाईंहरूलाई बताउन आवश्यक छैन । तपाईंहरूलाई बताउनुपर्छ भन्ने कहाँ लेखेको छ ?”

केही साताको अनुसन्धानपछि हामी स्वास्थ्य मन्त्रालयका उच्च सूत्रहरूको सम्पर्कमा पुग्यौं । त्यसपछि हामीलाई भरतपुर अस्पतालमा गम्भीर चिकित्सकीय लापर्वाही र व्यवस्थापकीय कमजोरीहरू थिए भन्ने थाहा भयो । यस बीचमा अस्पताल स्वयंले गरेको गोप्य समीक्षा रिपोर्ट पनि हाम्रो हात प¥यो । त्यसमा भनिएको छ, “उनीहरू सबैलाई बचाउन सकिन्थ्यो ।”

‘मर्न नपर्ने पाँच महिला’

सुत्केरी हुन चितवनको भरतपुर अस्पताल गएकी सर्लाही वागमतीकी २६ वर्षीया विना अधिकारीको ८ असोज, चितवन गुञ्जनगरकी २२ वर्षीया सुनु भुजेलको २६ असोज, प्रेमबस्तीकी २१ वर्षीया सुरुची सुवालको २० कात्तिक, नवलपरासी देवचुलीकी २८ वर्षीया शोभा चापागाइँको ४ मंसीर र चितवन गौरीगञ्जकी २२ वर्षीया केशिया महतोको १२ मंसीर मृत्यु भएको थियो ।

यी मृतकका परिवारलाई अस्पतालले उनीहरूलाई ‘कहीं लगे पनि बचाउन सकिन्नथ्यो’ भन्ने जवाफ दिएर घर पठाएको थियो । अस्पताल प्रशासनले परिवारका सदस्यलाई दिएको जानकारी अनुसार ती सुत्केरीहरूको ज्यान जानुमा अस्पतालको कुनै कमजोरी थिएन । बरु उनीहरूकै स्वास्थ्यमा गम्भीर खराबीले यस्तो दुःखद् परिणाम आएको हो ।

तर तीन महीना भित्र अस्पतालमा सुत्केरी गराउन आएका यी आमा र तिनका बच्चाकोे मृत्युबारे अस्पताल भित्र त्रास फैलियो । यसपछि उसले आन्तरिक रूपमा गोप्य समीक्षा ग¥यो । समीक्षाको निष्कर्ष गम्भीर निस्कियो । त्यसमा भनिएको छ, “उनीहरूको मृत्यु हुनुमा अस्पतालकै कमजोरी छ, सबैलाई बचाउन सकिन्थ्यो ।”

ज्यान गुमाएका प्रत्येक महिलाको व्यक्तिगत समीक्षापछि अस्पतालले परिवार स्वास्थ्य महाशाखा, काठमाडौंमा पठाएको मृत्यु समीक्षा फारम (डेथ रिभ्यू फर्म) ले बचाउन सकिने ती सुत्केरी महिलाको मृत्यु अस्पतालकै कमजोरीले भएको पुष्टि गर्छ ।

खोज पत्रकारिता केन्द्र लाई प्राप्त ती प्रमाणअनुसार ‘गौरीगञ्जकी केशिया, प्रेमबस्तीकी सुरुची र सर्लाहीकी विनाको अस्पतालका विभिन्न विभागका चिकित्सकको बीचमा राम्रो समन्वय र आन्तरिक सञ्चार नहुँदा मृत्यु भएको’ भनेर अस्पतालले स्वीकारेको छ ।

शल्यक्रियापछि होशमा आइसकेको अवस्थामा अकस्मात् मिर्गौलाले काम नगरेपछि केशियालाई के–कस्तो उपचार गर्ने भन्ने बारेमा उपचारमा संलग्न चिकित्सकहरूबीच अन्तरविभागीय समन्वय हुन नसक्दा उनको मृत्यु भएको थियो । “बहुविभागीय विशेषज्ञ (जस्तै नेफ्रोलोजी इकाई) उपलब्ध भएको भए उनलाई बचाउन सकिन्थ्यो” अस्पतालले गरेको समीक्षाको निष्कर्ष छ ।

सोही अस्पतालमा नियमित जाँच गराउँदै आएकी केशियालाई अस्पतालले २२ मंसीरमा सुत्केरी हुने दिन तोकेकोमा उनी १० मंसीर नै अस्पताल पुगेकी थिइन् । जाँचपछि डाक्टरहरूले प्रेसर हाई (उच्च रक्तचाप) रहेछ, औषधि खाएर तुरुन्त अपरेशन गर्नुपर्छ भन्दै त्यसै दिन शल्यक्रियाबाट बच्चा निकालिदिएका थिए । परिवारका सदस्यहरूले बताएअनुसार उनी घरबाट आफैं चोकसम्म हिंडेर सार्वजनिक भ्यान चढेर अस्पताल गएकी थिइन् ।

शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ र ‘आईसीयू’ मा राख्दा उनलाई भिरुलेन्ट इन्फेक्सन (कडा खालको विषाक्त संक्रमण) भएको अस्पतालको समीक्षा प्रतिवेदनले स्वीकार गरेको छ । जसका कारण सेप्टिक सक (रगतमा विष फैलने काम) भएको थियो ।

समीक्षा प्रतिवेदनमा ‘अस्पतालमा आपत्कालीन अवस्थामा आवश्यक पर्ने जनशक्ति उपलब्ध नहुनु’ उनको मृत्युको अर्को कारण भनिएको छ । केशियाको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा विभागीय प्रमुख डा. सुनिलमणि पोखरेलले गरेका हुन् । शल्यक्रिया टोलीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमनाथ सुवेदी, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारी पनि संलग्न थिए ।

सुरुचीलाई पनि ‘आईसीयूमा अनुभवी चिकित्सकको टोली भएको भए र विभिन्न विभागहरूको बीचमा सही तरीकाले सूचना आदानप्रदान भएको भए बचाउन सकिन्थ्यो’ भन्ने अस्पतालको समीक्षा दस्तावेजको निष्कर्ष छ । अस्पतालले शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ मा राख्दा ‘सुरुचीमाथि निगरानी नपुगेको’ स्वीकारेकोे छ ।

शल्यक्रियापछि ‘सक’ (अत्यधिक रक्तस्रावपछि बेहोश हुनु र हातगोडा चिसो हुनु) अवस्थामा पुग्नुअघि समयमै हेरचाह नगर्दा सुरुचीको मृत्यु भएको थियो । अस्पतालको अभिलेखमा ‘सुरुचीको ‘सक’ पहिचान नभएको र रक्तस्राव नरोकिएपछि दोस्रो अपरेशनको तयारी तत्काल गर्न नसक्दा’ उनको मृत्यु भएको उल्लेख छ । उनको शल्यक्रियामा सर्जन डा. मन्जु पाण्डे, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारीलगायत संलग्न थिए । अपरेशन गरेर पोष्ट अपरेटिभ वार्डमा पु¥याउँदा समेत रगत बग्न नरोकिएपछि उनको अवस्था गम्भीर भएको थियो । उनको उपचारमा डा. जीवन परियार, डा. रामहरि ढकाल लगायतको टोली सामेल थियो ।

सर्लाही वागमतीकी विना पनि अस्पतालमा समयमै सही उपचार पाएको भए बाँच्ने महिला हुन् । अस्पतालको समीक्षा अनुसार, उनको मृत्यु हुनुको कारण पनि ‘अस्पतालका विभागहरूको बीचमा सूचना प्रवाह राम्रोसँग हुन नसक्नु’ हो । उनलाई ‘आईसीयूमा राख्दा राम्रो हेरचाह नपुगेको’ अस्पतालको आन्तरिक समीक्षा रिपोर्टले स्वीकार गरेको छ । तर, मृत्युपछि उनका आफन्तलाई उपचारमा संलग्न चिकित्सकहरूले ‘मुटु र कलेजो फेल भएर आमा र बच्चा दुवैलाई बचाउन नसकिएको’ बताएको थियो ।

अस्पतालले तयार गरेको गोप्य अभिलेख अनुसार चितवन गुञ्जनगरकी सुनु र नवलपरासी देवचुलीकी शोभा पनि सुरक्षित प्रसूति सेवा लिन अस्पताल जाँदा ज्यान गुमाएका ‘बाँच्ने सम्भावना भएका’ महिला हुन् ।

स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका अनुसार, कुनै सुत्केरीको मृत्यु भएमा मातृ मृत्यु समीक्षा फारम भरेर ७२ घण्टा भित्र मन्त्रालयमा पठाइसक्नुपर्छ । भरतपुर अस्पतालले पनि यस्तो फारम केन्द्रमा बुझाएको छ ।

अस्पतालले परिवार स्वास्थ्य महाशाखालाई पठाएको मृत्यु समीक्षा फारममा दुवैलाई बचाउनै नसकिने भनेर लेखिएको छैन । तर, उनीहरू मर्नुको कारण र बचाउन सकिने उपायको बारेमा अस्पतालले गोलमटोल विवरण दिएको छ । मातृशिशु सुरक्षा कार्यक्रमको गुणस्तर तथा नीतिगत व्यवस्थामा सुधार ल्याउने उपयोगिताका लागि भरिने त्यस्तो फारममा ती विवरण छुटाउन डाक्टरहरूलाई छूट छैन ।

तर, सुनु र शोभाको मृत्युको कारण र बचाउन सकिने सम्भावित उपायका बारेमा विवरण लुकाउनु शंकास्पद रहेको नाम खुलाउन नचाहने एक विशेषज्ञ बताउँछन् । शोभाको शल्यक्रियामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हेमनाथ सुवेदी, एनेस्थेसिस्ट डा. प्रदीप अधिकारी, डा. दिलीपकुमार यादवलगायत संलग्न थिए ।

सुत्केरी हुन अस्पताल पुगेकी सुनुको दुई दिनसम्म उपचार नथाल्दा बच्चा जन्माउन नसकी ज्यान गएको थियो । उनको ज्यान जानुमा अस्पतालका चिकित्सकहरूको अर्को कमजोरी पनि जिम्मेवार देखिएको छ । उनले भरतपुर अस्पतालमै चार पटक गर्भ परीक्षण गराएकी थिइन् । गर्भको शिशु असामान्य रहेकाले जीवित जन्माउने सम्भावना कम रहेको २२ साउनमै भिडियो एक्सरेबाट पत्ता लागे पनि डाक्टरहरूले उनी र उनको परिवारलाई यसबारे केही बताएका थिएनन् । त्यसको दुई महीनापछि सुनाको मृत्यु भएको थियो । त्यसपछि मात्र डाक्टरहरूले ‘पहिल्यै फ्याँक्नुपर्ने बच्चा जन्माउने समय कुरेर बसेकोले यस्तो परिणाम आएको’ तर्क परिवारसँग गरेका थिए ।

“अस्पतालले २५ असोजको मिति दिएर एक–दुई दिन पहिले नै ल्याउनु भनेको थियो । हामीले त्यसै ग¥यौं तर लगेको दुई दिनसम्म पर्खाएर मात्रै राखियो । ज्यान गएपछि डाक्टरहरूले हाम्रै दोष देखाए”, सुनाकी सासू तिलकुमारीले भनिन् । अस्पतालले सुत्केरी बेथा लाग्ने समय पर्खाइरहेको अवस्थामा एक्कासि बेहोश भएपछि आईसीयूमा लगिएकी सुनाको होशमा नआई मृत्यु भएको थियो ।

गल्ती लुकाउने प्रयास
“म भन्दिनँ”: डा. रुद्र मरासिनी, मेडिकल सुपरीटेन्डेन्ट
-सबै भन्नुपर्छ भन्ने जरुरी छैन, म भन्दा पनि भन्दिनँ ।
-कुनै डाक्टर र नर्सले बिरामीको अपरेशन र निगरानी राम्रोसँग नगरेर मरेको रहेछ भने पनि भन्दिनँ ।
-हस्पिटल नै आगो लगाए पनि भन्दिनँ ।
-आन्तरिक समीक्षामा भएका सबै कुरा तपाईंलाई भन्दै भन्दिनँ ।
-हरेक बिरामीका परिवारसँगको कुरा कसरी मिलाइयो भन्ने कुरा भन्दिनँ ।
-तपाईंहरु गलत इन्टेन्सनले आउनुभएको छ, मलाई प्रश्न सोधेर मात्र अस्पताल सुधार हुँदैन ।
-उजुरी हाल्नुस्, त्यसपछि मात्र छानबिन प्रतिवेदन दिन्छौं, यसरी कोठामा आएर सोध्दैमा भन्दिनँ ।

अस्पताल प्रशासनले आन्तरिक अभिलेखमा महिलाहरूको ज्यान जानुमा अस्पताल र चिकित्सककै कमजोरी रहेको स्वीकार गरे पनि दोषी देखिएकालाई जिम्मेवार बनाएर कमजोरी सुधार्नु सट्टा अहिले पनि गल्ती लुकाउने प्रयास गरिरहेको छ ।

अस्पतालले सार्वजनिक रूपमा दिने गरेको अभिव्यक्तिबाट ऊ आफ्नो कमजोरी लुकाउन खोजिरहेको प्रष्ट हुन्छ । अस्पतालले तयार गरेको मृत्यु समीक्षा फारम, मेडिकल रेकर्ड, मृत्यु प्रमाणपत्र र मृतकका परिवारलाई दिएको मौखिक जवाफ आफैंमा बाझिएका छन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनी ‘सुत्केरीको मृत्यु हुनुमा अस्पतालको कुनै दोष नभएको’ दाबी गर्छन् । प्रारम्भिक खोज पछि हामी उनको अन्तर्वार्ता गर्न चितवन पुगेका थियौं । उनले भने “सुत्केरी महिलाहरूको मृत्यु हुनुमा अस्पतालको कुनै कमजोरी होइन, उनीहरूकै मेडिकल कज (रोगहरू) जिम्मेवार छ, उनीहरूलाई कहीं लगे पनि बचाउन सकिन्नथ्यो ।” अस्पतालले आन्तरिक रूपमा तयार गरेको प्रतिवेदन बोकेर त्यहाँ पुगेका हामीलाई ढाँट्न उनले हरसम्भव प्रयास गरे ।

यसअघि अस्पतालले केशिया, सुनु, विना र शोभाको परिवारलाई उनीहरूको मुटु र मिर्गाैलाले काम नगर्दा मृत्यु भएको मौखिक जवाफ दिएको थियो, जसलाई चिकित्सकहरूले ‘कहीं लगे पनि निको पार्न नसकिने रोग’ भनेर व्याख्या गरेका थिए । यस्तै सुरुचीको परिवारलाई उनीहरूले अत्यधिक रक्तश्रावपछि रगत जम्ने तत्वको अभावमा रक्तश्राव नरोकिएकाले मृत्यु भएको बताएका थिए । उनको परिवारलाई पनि ‘कहीं लगे पनि सञ्चो नहुने’ जवाफ दिएका थिए । डा. मरासिनीले हामीलाई पनि त्यही कुरा दोहो¥याए ।

मृतकका परिवारलाई दिइएको मृत्यु प्रमाणपत्रमा अस्पतालले तिनै कारण लेखेको छ । अस्पतालले केशियाको परिवारलाई ‘सेप्टिक सक’, सुरुचीको परिवारलाई ‘कोयागुलोप्याथी’, सुनुको परिवारलाई ‘कार्डियाक फेलियर’ र ‘एस्पाइरेसन फेलियर’ को कारणले मृत्यु भएको भनेको छ । यस्तै शोभा र विनाको परिवारलाई मुटु र मिर्गौला फेल भएको कारणले मृत्यु भएको भनेको छ ।

सार्वजनिक रूपमा गल्ती स्वीकार्न नचाहने अस्पताल प्रशासनले सोधखोज गर्न जाने परिवारलाई सकेसम्म सबै दोष मृतकमै थोपरेर उम्किने, नसकेमा केही रकम दिएर घटना सामसुम पार्ने गरेको पनि भेटियो ।

मृत्यु भएका पाँचै महिलाको परिवारलाई अस्पतालले उनीहरूकै रोगका कारण मृत्यु भएको बताएको थियो । यीमध्ये चार जनाको परिवारले ‘डाक्टरले भनेपछि होला’ भनेर चित्त बुझाएका थिए । तर, नवलपरासीकी शोभाका आफन्तले अस्पतालमा प्रदर्शन गरेपछि नगद रकम दिएर कुरा मिलाइयो । अस्पतालले शोभाको परिवारलाई दुई लाख रुपैयाँ नगद दिने, छोरीहरू पढाइदिने र उनीहरूको उपचार पनि आजीवन निःशुल्क गर्ने आश्वासन दिएर फर्काएको थियो । शोभाकी सासू मनरुपा चापागाईंले भनिन्, “हामीले शव नउठाउने अडान लिएपछि कुरा मिल्यो ।”

यसैगरी सुनाको मृत्युपछि आक्रोशित भएको उनको परिवारलाई पनि एक जनालाई मासिक नौ÷दश हजार रुपैयाँको जागिर दिने आश्वासन अस्पताल प्रशासनले दिएको मृतककी सासू तिलकुमारीले बताइन् । ‘‘ज्यानै गइसकेपछि जागिरले के गर्नु भनेर स्वीकारेनौं”, उनले भनिन् ।

औषधि : ‘ब्याच नम्बर छैन’

अस्पतालकै अभिलेख अनुसार बिरामीको उपचारमा अन्तरविभागीय समन्वयको अभाव र अपरेशनपछिको संक्रमणबाट महिलाहरूको मृत्यु भएको देखिन्छ । अस्पताल र चिकित्सकले जिम्मेवारी लिनुपर्ने डरले पहिलो कारण गोप्य राख्ने प्रयास गरिरहेको अस्पताल प्रशासनले उपचारमा प्रयोग भएका औषधिमा खराबी हुनसक्ने आशंका रहे पनि यकिन भइनसकेको बताउने गरेको छ ।

अस्पतालले औषधिका केही नमूना परीक्षण गरिदिन औषधि व्यवस्था विभाग बबरमहल, काठमाडौंलाई २० मंसीरमा पत्र पठायो । सो पत्रमा अस्पतालले चलाखीपूर्ण बेहोरा लेखेको देखिन्छ । पत्रमा ‘भरतपुर अस्पतालमा उपचार गराउन आउने प्रसूति सम्बन्धी बिरामीहरूको विगतको तुलनामा अनपेक्षित रूपमा मातृ मृत्युदर बढिरहेकोले औषधिको गुणस्तर परीक्षण गर्न विशेषज्ञ टोली खटाई सहयोग गरिदिन अनुरोध छ ।’

अस्पतालकै शब्दमा ‘अनपेक्षित मातृ मृत्युदर बढिरहेको’ साढे दुई महीनापछि मात्रै औषधि परीक्षणका लागि पत्राचार गरेको देखिन्छ । अस्पताल प्रशासनले त्यसबीचमा आफूले गरेका प्रयत्नहरूबारे केही बताउन सकेको छैन । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनी भन्छन्, “यस विषयमा के गरियो त्यो भन्न जरूरी छैन ।”

अस्पतालको अनुरोधपछि २ पुसमा काठमाडौंबाट विज्ञ टोली भरतपुर अस्पताल गयो । तर, टोलीलाई अस्पतालले मृत्यु भएका बिरामीलाई प्रयोग गरिएका औषधि कुन–कुन हुन् भन्ने जानकारी दिएन । विज्ञ टोलीकी सदस्य राष्ट्रिय औषधि प्रयोगशालाकी वरिष्ठ गुणस्तर निरीक्षक शिवानी खड्गीले भनिन्, “मृतकको मेडिकल रेकर्ड हेर्दा औषधिको नाम मात्र थियो, कुन व्याच नम्बरको भन्ने खुलेको थिएन ।”

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाबाट गएको टोली सामान्य सोधपुछ र औषधि भण्डारणको अनुगमन गरेर फर्कियो । त्यसपछि अस्पतालले परीक्षणका लागि पठाएका विभिन्न ९ वटा औषधिको नमूना त्यसको झण्डै एक महीनापछि २६ पुसमा मात्रै औषधि व्यवस्था विभागमा पुग्यो । ती सबै नमूना ‘आमा सुुरक्षा कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले सुत्केरीलाई निःशुल्क उपलब्ध गराउने औषधिका हुन्, जसको परीक्षण राष्ट्रिय औषधि प्रयोगशालामा अहिले भइरहेको छ ।

मृत्युको तथ्यगत कारण पत्ता लगाउन मृतकहरूको शव पोस्टमोर्टम गर्नुपर्नेमा अस्पतालले गुञ्जनगरकी सुनु भुजेल बाहेक अरू चारको पोस्टमोर्टम नै गरेन । केही मृतकका आफन्तले अनपेक्षित मृत्युको शोकमा पोस्टमोर्टम गर्नेतिर ध्यान नगएको बताएका छन् । केही मृतकका परिवारले पोस्टमोर्टम गर्न चाहँदा पनि अस्पतालले ‘शरीर टुक्राटुक्रा पार्नुपर्र्छ’ भन्ने जवाफ दिएर त्रसित बनाएको पाइएको छ ।

मृत्यु भएकी विनाका श्रीमान् विराज अधिकारी भन्छन्, “मेरो बिरामीको मृत्यु हुनुमा डाक्टरले दिएको जवाफ पत्यार लागेन । पोस्टमोर्टम गराउँछु भन्दा डाक्टरहरूले ‘गर्ने हो भने सबै भित्री अंग निकालेर देखाइदिन्छौं’ भने ।” विराजले भने, “ज्यान गइसकेपछि किन त्यसरी चिरफार गरेर अंग निकाल्नु, जे हुनु भइसक्यो भनेर आँखा चिम्लँदै अस्पतालले दिएको कागजमा सही गरें । अनि आमा र बच्चाको शरीर छुट्याएर वागमतीमा ल्याई अलग अलग अन्त्येष्टि गरेंं ।”

अस्पताल गएका जो फर्केनन्

शोभा चापागाईं (२८), नवलपरासी

२६ पुस बिहान १० बजे हामी देवचुली–१६, नवलपरासीस्थित शोभा चापागाईंको घरमा पुग्दा उनकी पाँच वर्षीया छोरी साक्षी र सासू मनरुपा सल्काएको सिन्केधूप हातमा लिएर घर परिक्रमा गरिरहेका थिए । तीन फन्का लगाएपछि उनीहरू पछिल्तिरको ढोकाबाट घर भित्र पसे । हामी पनि उनीहरूलाई पछ्याउँदै गयौं ।

हजुरआमाको अघिअघि हिंडिरहेकी साक्षी घरको प्यासेजबाट एउटा कोठामा प्रवेश गरिन् । जहाँ तल देवीदेवताका केही फोटाहरूसँगै धिपधिप दियो बलिरहेको थियो । त्यसैको माथि भित्तामा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर टाँसिएको शोभाको फोटो थियो । साक्षी र मनरुपा दुवैले हातमा लिएको धूप भित्ताको फोटोमा तीन÷तीन पटक घुमाएर दियोको छेउमा राखे । त्यसपछि उनीहरूले शोभाको फोटोतिर फर्किएर एकाग्र मुद्रामा उभिंदै केहीबेर हात जोडेर प्रार्थना गरे ।

पाँच वर्षकी साक्षी तिनै बालिका हुन् जसकी आमा अर्को बच्चा जन्माउन जाँदा अस्पतालमै वितिन् । ४ मंसीरमा आमा शोभाको मृत्यु भएर १३ दिनको काजक्रिया सकिएपछि हरेक बिहान साक्षीले यसरी नै आमाको आराधना गरिरहेकी छन् ।

साक्षी बेलुका भएपछि चारैतिर फर्कंदै आमाको बाटो हेरिरहन्छिन् । अलि धेरै मान्छे जम्मा भएको देखेपछि उनी सबैसँग सोध्ने गर्छिन्, “आज ममी आउने दिन हो ?” उनको यो अबोध प्रश्नको जवाफ आँशुले दिइरहेका छन् आफन्तजनहरू । साक्षीकी हजुरआमा मनरुपा भन्छिन्, “बिचरा यो बालखले आमा बिर्सन सकेकी छैन, उसलाई के जवाफ दिनु !”

शोभाकी जेठानी दिदी अप्सराले भनिन्, “उसको प्रश्न सुनेपछि भक्कानो छुटेर आउँछ अनि तिम्रो ममी भगवान भइसकिन् छोरी, अब उनी आउँदिनन् भनेर सम्झाउँछु तर उसले विश्वासै गर्दिनँ ।” साक्षी सुत्ने ओछ्यान अर्को कोठामा थियो जहाँ उनका बाबुआमाको ठूलो फोटो छापिएको फ्लेक्स उल्टो पारेर झुण्ड्याइएको थियो । नातिनीले सुत्ने बेला आमा सम्झेर खोजी नगरून् भनी बिर्साउनकै लागि उनको फोटो उल्ट्याइएको मनरुपाले बताइन् ।

२८ वर्षीया शोभा दोस्रो बच्चा जन्माउनका लागि भरतपुर अस्पतालका डाक्टरहरूले दिएको ६ मंसीरको मिति आउनुभन्दा तीन दिनअघि आफंैले खोजेको एम्बुलेन्स चढेर सासूसँगै अस्पताल पुगेकी थिइन् । त्यसको अघिल्लो दिनसम्म उनी घर नजिकैको एक उद्योगमा जुस प्याक गर्ने काम गर्थिन् ।

अस्पताल पुगेर जाँच गराएपछि डाक्टरहरूले भिडियो एक्सरे गर्न पठाए । एक्सरे रिपोर्ट हेरेपछि डाक्टरले ‘ठीकै छ’ भनेका थिए । बेलुका ५ बजे एक्कासि अपरेशन कोठामा लगिएकी उनको ६ बजेतिर अपरेशन गरेर बच्चा निकालियो । बच्चा आफन्तलाई जिम्मा लगाएर डाक्टरहरूले उनलाई पोस्ट अपरेटिभ वार्डमा लगे । उनीसँगै रहेकी आमा कृष्णकुमारी वास्ताकोटी बेलाबेलामा भेट्न जाँदा पेट दुखेको बताएकी थिइन् । घरी जाडो र घरी गर्मी भइरहेको पनि बताइरहेकी थिइन् । रातिदेखि नै उनको पिसाब बन्द भएको थियो ।

बिहान ६ बजेतिर आमासँग तातोपानी मागेर खाइन् । त्यसबेलासम्म आत्तिई आत्तिई बोल्दै थिइन् । त्यतिबेला उनले नवजात छोरी ल्याइदिन भनिन् र लगेपछि काखमा पनि लिइन् । त्यसको केहीबेरपछि उनको पेट अस्वाभाविक रूपले फुल्दै गयो । त्यही कारण अपरेशन गरेको टाँका पनि खुल्यो । उनी बेहोश भइन् । अवस्था बिग्रँदै गयो । झन् सिकिस्त हुँदै गएपछि डाक्टरले आफन्तहरूसँग पहिले कुनै रोग थियो कि भनेर सोधे । उनीहरूले कुनै बिमार नभएको जानकारी गराए ।

शोभाकी आमा कृष्णकुमारी भन्छिन्, “एकैछिनपछि अक्सिजन दिएको देखें । धेरै जना डाक्टरहरू आएर घेरे । त्यसपछि उनीहरूले बिरामीको मिर्गौलाले काम गरेन, यहाँ मिर्गौलाको डाक्टर छैनन्, बलिया बलिया मान्छे बोलाएर छिट्टै मेडिकल कलेज लगिहाल्नुस् भने ।” दिउँसो तीन बजेतिर अस्पतालले उनलाई थप उपचारका लागि सँगै रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल पठायो । त्यहाँ भेन्टिलेटरमा राखिएको शोभाको होशमै नआई साँझ ६ बजे मृत्यु भयो ।

त्यसको भोलिपल्ट भरतपुर अस्पतालको कमजोरीले ज्यान गएको आशंका गर्दै उनको परिवारले अस्पतालविरुद्ध धर्ना र प्रदर्शन गरे । त्यसपछि भएको वार्तामा अस्पताल प्रशासनले नवजात शिशु समेत शोभाका दुई छोरीहरूको नाममा दुई लाख रुपैयाँको अक्षयकोष राखिदिने, दुवै बच्चालाई पढाइदिने र उनीहरूको उपचार आजीवन निःशुल्क गरिदिने प्रतिबद्धता जनायो । त्यसपछि शोभाको शव बुझेर अन्त्येष्टि गरियो ।

त्यसबेलाको प्रतिबद्धता अनुसार अस्पतालले पुसको अन्तिम साता एक लाख रुपैयाँको चेक दिएको थियो । तर बैंक खाता निष्क्रिय अवस्थामा रहेकाले साट्न नपाएको त्यो चेक फिर्ता गरिएको शोभाका जेठाजु बुद्धि चापागाईंले बताए । अस्पतालका एक डाक्टरले फोन गरेर उनलाई दुई लाखको चेक एकैचोटि बनाइदिने आश्वासन दिएका छन् ।

घर बनाएको ऋण तिर्न २०७४ असोजमा दुबई गएका शोभाका श्रीमान् रामप्रसादले अझैसम्म काम पाएका छैनन् । फर्कने खर्च समेत नहुँदा उनी श्रीमतीको मृत्यु हुँदा पनि घर आउन सकेनन् । रामप्रसादले यसै वर्ष नौ लाख रुपैयाँ ऋण काढेर बनाएको घरमा अहिले पाँच वर्षीया छोरी साक्षी र आमा मनरुपा मात्र छन् । शोभाको शल्यक्रियाबाट निकालिएकी नवजात छोरीलाई भैरहवा निवासी ठूलोबुबा बुद्धिले पालनपोषण गरिरहेका छन् ।

केशिया महतो (२२), चितवन

भरतपुर महानगरपालिका–८, गौरीगञ्जकी केशिया महतोको बच्चा जन्मने सम्भावित दिन भरतपुर अस्पतालका डाक्टरहरूले बताएअनुसार २२ मंसीरमा थियो । डाक्टरकै सल्लाहमा घर नजिकैको स्वास्थ्य चौकी गएर उनी बेलाबेलामा प्रेसर जँचाउने गर्थिन् । डाक्टरले दिएको मिति अनुसार अस्पताल जान हतारो नभए पनि आमा बन्न लागेकोमा उत्साही केशिया समय आउन लागेकाले जँचाउनु राम्रो होला भनी १० मंसीर बिहान खाना खाईवरी आमाजू लक्ष्मी गुरुङसँगै अस्पताल पुगिन् ।

उनी घरबाट अस्पतालसम्म स्थानीय रुटको भ्यान चढेर गएकी थिइन् । कुनै असजिलो महसूस नभएकाले गाडी चढ्ने ठाउँसम्म करीब आधा किलोमिटर हिंडेरै पुगेकी थिइन् । तर अस्पताल पुगेर ओपीडीमा जँचाउँदा डाक्टरहरूले ‘अपरेशन गर्नुपर्छ’ भने । विश्वस्त देखिएकी उनी ‘किन अपरेशन गर्नुप¥यो, म बेथा लागेरै पाउन सक्छु’ भनिरहेकी थिइन् ।

डाक्टरकै सल्लाहअनुसार उनको रगतका विभिन्न तत्वहरूको जाँच गरियो । उसै दिन अपरेशन गरिन सक्ने बुझेपछि लक्ष्मीले तुरुन्तै केशियाका श्रीमान् कृष्ण थापालाई फोन गरेर बोलाइन् । रगतका रिपोर्टहरू आउनुअघि नै उनलाई अपरेशन कोठाभित्र लगिसकिएको थियो ।

लक्ष्मी भन्छिन्, “हामी बाहिर उभिएर कुरिरह्यौं, धेरैबेरपछि एक जना डाक्टर आएर अपरेशनको लागि सही गरिदिनुप¥यो भने, भाइले डराउँदै सही ग¥यो ।” दिउँसो एक बजेतिर अस्पतालका नर्सहरूले अपरेशनबाट निकालिएकी बालिका उनीहरूको हातमा सुम्पिए । एकैछिनपछि डाक्टरहरूले “तपाईंको बिरामी सिरियस छ, आईसीयूमा सार्नुपर्छ” भने ।

लक्ष्मीले बेलाबेलामा केशियालाई भेटेर के छ, कसो छ भनी सोधिरहिन् । उनले अरू सबै ठीक भएको तर पेट चाहिं अलिअलि दुखेको बताएकी थिइन् । आईसीयूमा राखेपछि एकदुई दिनमा सञ्चो हुने आशा गरिरहेका आफन्तहरू भोलिपल्ट बिहानै उनको पिसाब बन्द भएको खबरबाट आत्तिए । त्यतिबेला भएको भेटमा उनले “नानीलाई कस्तो छ ?” भनेर सोधेकी थिइन् ।

एक्कासि डाक्टरहरूले केशियाको रगत बढी गएको भन्दै प्रशस्त औषधिहरू मगाउन थाले । बिरामी सिकिस्त भएको सुनेपछि बाहिर बसेर उनलाई कुर्ने आफन्तजनहरूको भीड लाग्यो । कुनै कनै बेला चार÷पाँच जना चारैतिर कुदेर औषधि जुटाउनुपरेको थियो । त्यसबेला बिरामीलाई सास फेर्न गाह्रो भएको र पेट फुलिंदै गएको थियो । डाक्टरहरूले “मिर्गौलामा प्रेसरले हानेको” बताए ।

रगतको कमी भयो भन्दै भित्रबाट रगत मगाउन थालिएपछि बिरामीका आफन्तले तीन÷चार जना मान्छे बोलाएर ताजा रगतको पनि व्यवस्था मिलाए । रगत दिइयो तर अवस्थामा सुधार आएन । त्यो देखेपछि उनीहरूले केशियालाई अर्को अस्पताल लैजाने भने । तर डाक्टरहरूले त्यस्तो गम्भीर अवस्थामा बिरामीलाई अन्यत्र लैजान नमिल्ने बताए ।

त्यस दिन उनका दुवै आँखा पहेंला भएका थिए । आँखा हेर्न मिलेको छैन, निद्रा मात्रै लागेको छ भनिरहेकी थिइन् । पानीको प्यास लागेको बताएपछि आफूले अलिकति पानी खुवाइदिएको पूजा बताउँछिन् । लक्ष्मीले भनिन्, “अपरेशन गरेको पर्सिपल्ट (१२ मंसीर) धेरै थरी डाक्टरहरूले हामी सबै कुरुवालाई एउटा कोठामा बोलाएर बुहारीलाई बचाउन नसकिएको बताए । हामी बेहोश जस्तै भयौं ।”

“चुनावको बेला सबैको ध्यान चुनावमै थियो, हाम्रो लागि बोलिदिने मान्छे पनि भएन, रुँदै लास लिएर फर्कियौं”, केशियालाई अस्पताल लगेदेखि अन्तिमसम्म सँगै रहेकी उनकी आमाजू लक्ष्मीले भनिन् ।

विना अधिकारी (२६), सर्लाही

वागमती नगरपालिका–३, सर्लाहीकी २६ वर्षीया विना अधिकारी आफ्नो टोलको सेफ इङ्गलिश बोर्डिङ स्कूलमा पढाउँथिन् । उनका श्रीमान् विराज अधिकारी पनि त्यहींको अर्को निजी स्कूल डनिङ फ्यूचर एकेडेमीका शिक्षक नै हुन् ।

सर्लाही हरिऔनको नमूना अस्पतालमा गर्भावस्थाको नियमित जाँच गराउँदै आएकी विनालाई सो अस्पतालले बच्चा जन्मन सक्ने सम्भावित दिन ६ असोजलाई अनुमान गरेको थियो । उनलाई ज्वरो देखिएपछि २ र ३ असोज सोही अस्पतालमा जँचाएर घर लगियो । कुनै जटिलता नआओस् भनी सावधानी अपनाउँदै ४ गते पनि उनलाई जँचाउन लगियो । ५ गते दिउँसोसम्म पनि ज्वरो कम भएन । त्यसपछि अस्पतालकै सल्लाहमा सुरक्षित सुत्केरी सेवाका लागि त्यसै दिन बेलुका उनलाई भरतपुर अस्पताल पु¥याइयो ।

विनाका श्रीमान् विराजका अनुसार अस्पतालका डाक्टरहरूसँग सोध्दा अपरेशन गर्नुपर्ने अवस्था नरहेको बताउँदै ज्वरो सञ्चो भएपछि सकेसम्म सामान्य अवस्थामै सुत्केरी गराउने र नभएमा मात्र अपरेशन गर्ने सल्लाह दिएका थिए । ७ गते दिउँसोसम्म पानीपट्टी लगाएर राखिएकी उनको त्यस दिन मध्यरातबाट ज्वरो कम भयो । लगत्तै सुत्केरी बेथा लाग्ने औषधि चलाएपछि ढाड र पेट दुख्न थाल्यो ।

बेथा शुरू भएपछि उनले खुशी हुँदै गाउँबाटै आएर सुत्केरी भइसकेकी अर्की एक महिलासँग एउटै एम्बुलेन्समा घर फर्कने सल्लाह गरिन् । रातभर उनलाई स्लाइन चढाएर राखियो । ८ गते बिहान ४ बजेतिर बेथाले बढी च्यापेको बेला एक्कासि रक्तस्राव देखियो । त्यसबेला डाक्टरहरूले दुई–तीन घर खुलेको छ, अब बेथा लाग्न थालेको छ, भनेका थिए ।

त्यसको केहीबेरपछि सुत्केरी हुनुअघिको प्रतीक्षा वार्डमा नर्सहरूले डो¥याएर हिंडाउँदै लगे । त्यहाँ लगेको एकछिनपछि ज्वानोको झोल मगाएर खान दिए । त्यसलगत्तै डाक्टरहरूले हेर्न थाले । त्यसैबेला एक्कासि दाँत किट्दै उनी बेहाश भएको खबर आयो । तर बिरामीका आफन्तलाई भेट्न जान दिइएन । “हामी बाहिर कुरिरहेका थियौं, करीब दुई घण्टापछि धेरै जना डाक्टरहरूले मलाई भित्र बोलाएर आमा र बच्चा दुवैलाई बचाउन नसकिएको सूचना दिए । त्यो सुन्नेबित्तिकै म बेहोश भएछु”, विनाका श्रीमान् विराजले भने ।

पुलिस आएर जबर्जस्ती शव बुझ्न दबाब दिएको र डाक्टरले तपाईंलाई विश्वास लागेको छैन भने पोस्टमोर्टम गराउनुस् मुटु, कलेजो, फोक्सो सबै निकालेर देखाइदिन्छौं भनेकोमा विराज अहिलेसम्म स्तब्ध छन् । “डाक्टरले रिपोर्टहरू देखाएर यो यो कारणले यस्तो अवस्था आउँछ भनेको भए पत्याउन पनि सकिन्थ्यो तर हामीले मृत्युको कारण के थियो भनेर अहिलेसम्म प्रष्ट हुन पाएका छैनौं” २७ पुस साँझ आफ्नै निवासमा भेटिएका अधिकारीले आमाविहीन पाँच वर्षको छोरो काखमा लिएर हामीसँग गुनासो पोखे ।

सुरुची सुवाल (२१), चितवन

भरतपुर महानगरपालिका–५, प्रेमबस्तीकी सुरुची सुवालले बिहेको पहिलो वर्षगाँठ पनि मनाउन पाइनन् । २९ मंसीर २०७३ सालमा सन्तोष सुवालसँग लगनगाँठोमा बाँधिएकी सुरुची तनहूँ कालिमाटीबाट नवदुलही भएर भित्रिएको एक वर्ष पनि वितेको थिएन । भरतपुर अस्पतालले दिएको ११ कात्तिकको सम्भावित मितिमा बच्चा पैदा नभएपछि उनलाई अस्पतालले नै एकहप्तापछि बोलाएको थियो ।

सुरुची १६ कात्तिक अस्पताल गएर भर्ना भइन् । त्यस दिन अस्पतालले कुनै औषधि चलाएन । सुत्केरी बेथा शुरू हुने प्रतीक्षा गरिरहेकी सुरुचीलाई डाक्टरहरूले गएको भोलिपल्टदेखि दुई दिनसम्म पाठेघरका मुखहरू खुल्ने औषधि खुवाए । तर ती औषधिले काम गरेनन् । बरु उनले आफूलाई दुखेको बताइरहिन् ।

सुरुचीलाई खानपानमा भने अरू बेलाकै जस्तो रुची थियो । १९ कात्तिक बिहान नास्ता गरिसकेपछि डाक्टरले अपरेशन गर्नुपर्छ भने । दिउँसो सवा दुई बजे अपरेशन गरेर बच्चा निकालियो । तीन बजेतिर अपरेशन कोठाबाट निकालेपछि उनले बच्चालाई दूध पनि खुवाएकी थिइन् । त्यसबेला पसिना आइरहेको थियो । सवा तीन बजेतिर टाउको दुख्यो भनिन्, नानीलाई कस्तो छ भनेर सोधिन्, त्यसपछि मेरो श्रीमान्लाई बोलाइदिनुस् भनिन् । त्यो नै उनको अन्तिम वाणी बन्यो ।

उनीसँगै रहेकी दिदी सुष्माका अनुसार पोस्ट अपरेटिभ वार्डमा बोल्न नसक्ने भएको करीब एक घण्टापछि उनलाई एकदमै गाह्रो भएजस्तो देखेर ड्यूटीमा रहेका नर्सहरूलाई हेरिदिन आग्रह गरिएको थियो । त्यसबेला मात्र नर्सहरूले उनको रक्तस्राव भइरहेको देखेर डाक्टरलाई बोलाएका थिए । स्त्री तथा प्रसूती रोग विभागका प्रमुख डा. सुनिलमणि पोखरेललगायतका सात जना आएर हेरेपछि रक्तस्राव रोक्न तुरुन्त दोस्रो अपरेशन गर्नुपर्छ भनेर औषधिहरू मगाए ।

लगातार भइरहेको रक्तस्राव नरोकिएपछि दोस्रो अपरेशन उपयोगी भएन । डाक्टरहरूले आफन्तलाई बोलाएर भने, “जति सकिन्छ रगत खोज्नुस् तर बाँच्ने आशा चाहिं पाँच प्रतिशत मात्र छ ।” डाक्टरहरूको भनाइबाट विक्षिप्त बनेका आफन्तहरूले त्यस दिन रातिसम्ममा २० जना भन्दा बढी मानिस बोलाएर ताजा रगतको जोहो गरेको सुरुचीका छिमेकी दीपक सेनले बताए । तर उपचार चल्दाचल्दै डाक्टरहरूले सुरुचीका आफन्तलाई भने “बिरामीको सेतो रक्तकोष कम रहेछ, रगत बग्न रोकिएन । अब कहीं लगे पनि बचाउन सकिंदैन ।”

घरबाट अस्पताल जाँदा बच्चा काखमा लिएर फर्कने कल्पनाले सुरुची उत्साही देखिन्थिन् । उनलाई कुनै समस्या पनि थिएन । सुरुचीकी दिदी सुष्माले भनिन्, “तर अस्पतालले अघिल्लो साँझ बच्चा दियो, भोलिपल्ट बिहान सुरुचीकै शव जिम्मा लगायो, यस्तो कसैलाई नपरोस् ।”

सुना भुजेल (२२), चितवन

भरतपुर महानगरपालिका–१९, गुञ्जनगरकी सुना भुजेल २४ असोज अस्पताल जानुअघि टोलछिमेकका सबैसँग हाँसी–हाँसी विदा भएकी थिइन् । पहिलो बच्चा जन्माउन तयार भएकी उनी आफू पनि आमाको रूपमा नयाँ जन्मको अनुभूति सहित एकदुई दिनमै फर्कने व्यग्रतामा थिइन् ।

घरबाट करीब १८ किलोमिटरमा रहेको भरतपुर अस्पताल जाने बेला खेतको बीचमा रहेको घरदेखि सार्वजनिक यातायातको बस गुड्ने सडकसम्म हिंडेर गएकी उनी बाटोमा भेटिएका साथीसंगीहरूको शुभकामना लिंदै भनिरहेकी थिइन्, “फर्कंदा काखमा बच्चा र हातमा लड्डु ल्याउँछु ।” तर सुनाको त्यो रहर पूरा हुन पाएन । बरु, दुई दिनपछि उनको हँसिलो अनुहार दुइटा शव बनेर गाउँ फर्कियो । भुजेल परिवारलाई एउटा भयंकर दुस्वप्न झैं लाग्ने निर्मम सत्यको सामना गर्नुप¥यो ।

सुनाले गर्भ चार महीनाको हुँदादेखि नै भरतपुर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी थिइन् । चिकित्सकले सुत्केरी हुनको लागि २५ असोजको मिति तोकेकोले सुना एक दिन अघि अस्पताल गएकी थिइन् ।

अस्पतालमा बेड नपाउँदा सुना दुई दिनसम्म भुईंमै कुरिरहनुप¥यो । सुनाले २५ गते दिउँसो दुई बजेतिर पूर्वप्रसूती वार्डमा बेड पाइन् । त्यसको डेढ घण्टापछि डाक्टरहरूले उनलाई एउटा सिंगो र एउटा आधा ट्याबलेट खान दिए । सुनाले खाएको औषधि त्यति नै हो । २६ गते बिहानसम्म सासूसँग कुरा गरेकी थिइन् ।

सुखद् खबर पर्खिइरहेका आफन्तजनहरू बिहान साढे सात बजेतिर एक्कासि उनलाई स्ट्रेचरमा राखेर आईसीयूतिर लैजाँदै गरेको देखेपछि झस्किएका थिए । त्यसरी आईसीयूमा सार्नुअघि उनीहरूलाई कुनै जानकारी दिइएन । “कपडाबाट आफ्नो बिरामी चिनेर पछिपछि दगुर्दै जाँदा लिफ्टमा चढाएर माथिल्लो तलाको आईसीयूमा पु¥याए । म सँगसँगै गएँ, छोपेको कपडा पन्छाएर अनुहार हेरें, नानी भनेर बोलाएँ । उसले हेरिरही । मलाई सुरक्षा गार्डले तान्दै बाहिर निकालेर ढोका लगाइदिए”, सासू तिलकुमारीले भनिन् ।

उनले भनिन्, “हामीलाई त्यतिबेलै हाम्रो मान्छे छैन भन्ने शंका लागेको थियो, तर डाक्टरहरूले ‘काठमाडौं लैजानुहुन्छ भने बचाउन सकिन्छ’ भने । लैजान्छौं भनेपछि ‘१२ लाख रुपैयाँ चाहिन्छ, सक्नुहुन्छ ?’ भनेर सोधे । मैले हामी जहाँ लगेर भए पनि बचाउँछौं भनेपछि फेरि ‘हेलिकप्टर मगाउनुपर्छ’ भनेर बहाना बनाए ।”

आईसीयूमा भेला भएका डाक्टरहरूले केही समयपछि गाउँका एक स्थानीय नेतालाई बोलाएर सुनाको ज्यान गइसकेको बताएका थिए । अस्पतालले नै उनको शव पोस्टमोर्टम ग¥यो । मुटुको भल्भ साँघुरो भएकाले रक्तप्रवाह हुन नसक्दा ज्यान गएको डाक्टरहरूले बताए । २७ असोजमा आमाको शव एकातिर, बच्चाको शव एकातिर र सालनाल अर्कोतिर छुट्याएर लगी दाहसंस्कार गरे ।

“मर्नेका आफन्तलाई नौ÷दश हजार रुपैयाँसम्मको जागिर लगाइदिन्छौं भनेका थिए, तर मान्छे नै गएपछि जागिरले के गर्नु भनेर छोडिदियौं” तिलकुमारीले भनिन् ।

-प्रमोद आचार्य र एकल सिलवाल, खोज पत्रकारिता केन्द्रका लागि

Loading...