वादी महिलाको कथामा उपन्यास ‘नथिया’, कृतिमाथि चलचित्र बनाउने खनालको घोषणा

काठमाडौँ । कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा उपन्यास नथिया लिएर पाठकमाझ उपस्थित भएकी छिन् ।

उपन्यास नथियामा वादी महिलाको कथा समेटिएको छ । शिनबार राजधानीमा आयोजित कार्यक्रममा उपन्यास नथियाको वादी मुक्ति आन्दोलनकी अगुवा तथा प्रदेशसभाका सांसद उमा वादीले सार्वजनिक गरिन् ।

दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई उपन्यासमार्फत प्रस्तुत गरेको जानकारी दिँदै उपन्यासकार प्रतीक्षाले आफूले धेरैको नजर नपरेको विषयलाई प्रस्तुत गरेको बताइन् । विसं २०३६ देखि २०४६ सालसम्मको वादी महिलाको कथालाई प्रस्तुत गर्नु सहज नभएको भन्दै अाँफूले दुस्साहस गरेको उपन्यासकार सरस्वती प्रतिक्षाले बताइन् ।

उपन्यासमा ९५ प्रतिशत घटना सत्य भएको उनको दाबी छ । गणतन्त्रको घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्रमात्रै लगाएर प्रदर्शनमा उत्रिएका वादी महिलाले आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएको उनको भनाइ छ ।

उपन्यासमाथि टिप्पणी गर्दै पत्रकार नारायण वाग्लेले सरल भाषामा यथार्थलाई प्रस्तुत गरिएको कृति समकालीन आख्यानमध्ये उत्कृष्ट रहेको बताए ।

प्रमुख अतिथि वादी आन्दोलनकी अगुवा उमा वादीले आफ्नो समुदायको अवस्था, पीडित महिलाको कथामा उपन्यास लेखेर ठूलो गुन लगाएको बताइन् । नथिया वादी समुदायका लागि गीता, महाभारत जस्तै श्रद्धाको पुस्तक बनेको उनको भनाइ थियो ।

यसैबीच पुस्तक सार्वजनिकीकरण समारोहमा निर्देशक दीपेन्द्र के खनालले नथियामाथि चलचित्र बनाउने घोषणा गरेका छन् । आफूलाई उपन्यासले प्रभावित पारेकाले त्यसैमाथि चलचित्र बनाउने सोच आएको निर्देशक खनालले घोषणा गरे । डिएस डिजिटल र भूपेन्द्र खड्का प्रोडक्सनले निर्माण गर्ने उक्त चलचित्रको प्राविधिक तयारीसमेत शुरु भएको बताइएको छ ।

Loading...