३३ किलो सुन काण्डका नाइकेलार्इ युएर्इमा सम्मानै सम्मान

काठमाडौँ । ३३ किलो अवैध सुन काण्डका नाइके रोशन भनिने गुप्तलाल भुसाललार्इ युएर्इमा सम्मान गरिएको छ । युएईबाट काठमाडौं पुर्‍याइएको ३३ किलो सुन तस्करीका रोशन दोस्रो तहका नाइके हुन् ।

सिस्नोपानी नेपाल र एनआरएन युएईको आयोजनामा युएईमा चलिरहेको दुई थोपा हाँसो अभियान अन्तर्गत आबुधाबीमा उनलार्इ सम्मान गरिरहेको छ । रोशन प्रहरीको खोजीको सूचीमा छन् ।

आफूहरुलाई यसअघि पहिलो पटक युएईमा ल्याउन सहयोग गरेको भन्दै सिस्नोपानी नेपालले भुसाललाई सम्मान गरेको हो । उनलाई नेपाली ढाका टोपी तथा सम्मान पत्रसहित सम्मान गरिएको छ । उनलाई सिस्नोपानीका अध्यक्ष लक्षमण गाम्नागेले टोपी लागाइदिएका थिए भने व्यङ्ग्य कवि अर्जुन पराजुलीले सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा भुसालसहित नेपाली दूतावास आबुधाबीका कार्यबाहक राजदुत सागरप्रसाद फुयाँल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएन आइसिसीका मनोनित सदस्य मनोज गोर्खाली,आइसिसी सदस्य तथा व्यवसायी ठाकुर ढुंगानालाई पनि सम्मान गरिएको थियो ।

भुसाललाई गएको डिसेम्बर २२ तारिक दुवईमा भएको शुभयात्रा साँझ नामक सास्कृतिक कार्यक्रममा पनि आयोजकले सम्मान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले भुसाल अघिल्लो वर्ष पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुनको दोस्रो तहको मालिक भएको पहिचान गरेको थियो ।

दुवईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भएको र त्यसमा दुवई बसेर व्यापार गरिरहेका ६ जना नेपाली र नेपालमै बसेर व्यवसाय गरिरहेका दुई जना भारतीय नागरिक रहेको सीआइबीको दावी छ ।

जसमध्ये काभ्रे स्थायी ठेगाना भएका हरिशरण खडका र पर्वत स्थायी ठेगाना भएका रोशन भनिने गुप्तलाल भुसाल मुख्य नाइके रहेको सीआइबीको दावी छ ।भुसाल र खड्का दुवईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुन पसलका सञ्चालक हुन् । सोही काण्डमा परेका अर्जुनप्रसाद खरेल र राजनपन्थलाई सीआइबीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ ।

Loading...