मालदिभ्स संकटः सर्वोच्चले उल्टायो अाफ्नै अादेश

काठमाडौं । मालदिभ्सको सर्वोच्च अदालतले शुक्रबारको अाफ्नो निर्णय अाँफैले उल्टाएको छ । मंगलबार मात्र राष्ट्रपति अब्दुलाह यामिनले देशमा १५ दिनको संकटकाल लगाएपछि न्यायाधीशहरूले वक्तव्य जारी गर्दै गत शुक्रबार भएको सर्वोच्चको फैसला उल्टाएका हुन् ।

संकटकाल लगाएर प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशलाई गिरफ्तार गरिएको थियो । सर्वोच्चमा बाँकी रहेका न्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘राष्ट्रपतिले देखाएको चिन्ताका बीच’ निर्णय उल्टाएको बताएका छन् ।

राष्ट्रपति अब्दुल्ला यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरुले षड्यन्त्र गरेको आरोप लगाउँदै न्याधीशमाथि छानविन गर्ने भन्दै संकटकालको घोषण गरेका थिए ।

मंगलबार टेलिभिजन सम्बोधनका क्रमा यामीनले भनेका थिए, मैले देशमा संकटकाल घोषणा गर्नुपर्‍यो किनकी न्यायाधीशहरुबारे अनुसन्धान गर्ने अरु कुनै उपाय रहेन ।’

शुक्रबार सर्वोच्च अदालतले नौ जना विपक्षी नेतामाथि लागेको अभियोग खारेज गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै हटाइएका ११ सांसदलाई पुनर्वहाली गर्न भनेको थियो । यो आदेशले संसदमा विपक्षीहरुको पुनः बहुमत पुग्थ्यो । फेरी यामिनको सत्ता धरापमा पर्थ्यो । त्यसैले पनि यामिनले अदालतको अादेश नमान्दै संसद बैठक स्थगित गरेर संकटकालको घोषणा गरे ।

Loading...