हात्ती पाइले निवारणका लागि अभियान विरामी झन बढ्दै

कपिलवस्तु । सरकारी अभियानका बाबजुध पनि जिल्लामा हात्ती पाइलेका विरामीको संख्यामा भने कमी अाउन सकेको छैन् । जिल्लामा ८७८ विरामीमा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३-०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।

सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो ।

त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन ।

नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत समेत रोग निवारण हुन नसको स्वीकार्छन् । उनकै अनुसार पनि नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् ।

तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको हो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो ।

विसं २०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएका थिए । तर २०७३ गरिएको रक्त परीक्षणमा यो संख्या १३ प्रतिशतमा पुगेको हो ।

Loading...