समानुपातिक तर्फको परिणाम सार्वजनिक दलहरूलार्इ सांसदको सूची पठाउन अाग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।

सार्वजनिक मत परिणाम अनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बनेको छ । त्यस्तै काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।

आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए ।

संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत कटाउन सकेनन् । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ ।

सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न पत्राचार पनि गरेको छ ।

सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामावली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव बताए ।

मंसीर ३ गते पेश गरेको सूचिमा आधारित रहेर दलहरुले कम्तिमा १ तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवार विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन २ दिनको समय पनि आयोगले दिएको छ ।

फागुन २ गते भित्र प्रतिनिधि सभा समानुपातिकतर्फको नामावली सार्वजनिक गर्ने र त्यसपछि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ ।

Loading...