संघीय नेपालका प्रथम मुख्यमन्त्री पौडेलले लिए सपथ

माअोवादीले मन्त्रीको नाम नदिँदा स्थापितको सपथ अन्यौलमा

काठमाडौँ । प्रदेश ३ को मुख्यमन्त्रीमा नियुक्त डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। एमाले सांसद पौडेललार्इ प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार साढे नौ बजे प्रदेश प्रमुखको कार्यालयमा अायाेजित कार्यक्रममा सपथ खुवाएकी हुन्।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । यता पौडेलले अाजै पदभार ग्रहण गरेलगत्तै सानो मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । तर, बाम गठबन्धन भित्रको दल माओवादी केन्द्र भने तत्काल सरकारमा नजाने भएको छ ।

एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

मुख्यमन्त्री पौडेलले अाजै एमाले सांसद केशव स्थापितलार्इ मन्त्री बनाउने तयारी गरेका छन् । स्रोतका अनुसार स्थापित भौतिक पूर्वाधार मन्त्री बनाएर सरकार गठनको तयारी पौडेलले गरिरहेका छन् तर माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन ।

माओवादी केन्द्रले संसदीय दलका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा सहमति नभए पछि माअोवादीले नाम भने दिएको छैन् । माअोवादीले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मागेको छ । यसैमा दुर्इ दलबीच कुरा मिलेको छैन् ।

Loading...