जहाज उडाउने चेपाङ युवाको सपना

भरतपुर । राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ अहिले जहाज बनाउन व्यस्त छन् । औपचारिक शिक्षा कक्षा ५ पास उनी यतिवेला जहाज निर्माणलार्इ अगाडि बढाइरहेका छन् ।

पढाइ छाडेपछि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउँदै गर्दा सानो प्लेन र हेलिकप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले । परिणामस्वरुप अहिले उनी आफूसहित दुई जना चढ्न मिल्ने जहाज बनाइरहेका छन् । जहाजमा अब इन्जिन राख्नमात्र बाँकी छ ।

हावाको बहन मिलाउने पंखा र अन्य आवश्यक सामान जडान भइसकेको छ । स्टिल, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामग्री जहाजका कच्चा पदार्थ बनेका छन् ।
निर्माण कार्य सकिँदा करिब डेढ क्विन्टलको जहाज बन्ने र २० दिनभित्र उडाएर देखाउने सरोजको दाबी छ । जहाजभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ । सरोजले आँटेको काममा परिवारको पनि उस्तै साथ छ ।

करिब २ महिनाकै अन्तरालमा आफूले धेरै काम सकिसकेको उनले बताए । काम ६ महिनाअघि सुरु गरे पनि निरन्तर पानी परेकाले पछिल्लो २ महिनामा कामले रफ्तार पाएको उनी बताउँछन् । जहाज बनाउनका लागि उनले कच्चा पदार्थ, काठमाडौँ, नारायणगढ र वीरगंजदेखि ल्याउने गरेका छन् । निरन्तर यसै काममा लागेको बताउँदै सरोजले भने, ‘जहाज र प्यारासुट बनाएर आकाशमा उडाएर देखाउँछु ।’ प्यारासुटका लागि आवश्यक सामान लिन उनी शुक्रबार पोखरा जाँदैछन् ।

मोटरसाइकल, कार र अन्य ठूला गाडी पनि आफूले बनाउन सक्ने उनी बताउँछन् । गाडी चलाउनदेखि, वेल्डिङ, वाइरिङका कामसमेत उनले जानेका छन् । उनले बनाउँदै गरेको प्लेन हेर्नकै लागि अहिले दैनिक करिब २०० आउने गरेका छन् । केही गर्छु भनेपछि इच्छाविपरीत जान नसक्ने भन्दै घर बनाउने पैसा सबै जहाज बनाउन खर्च गरेको उनले बताए । काठमाडौँबाट पाइलट र इन्जिनियर आएर प्लेन निर्माणको काम हेरेर शुभकामना दिई गएको उनी बताउँछन् ।

जहाज बनाउन हालसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको र अब दुई लाख रुपैयाँ लाग्ने उनले बताए । यसअघिका सबै खर्च विदेशबाट बुबाले पठाइदिएका हुन्, सरोज भन्छन्, ‘अब लाग्ने पैसा पाए सहयोग लिन्छु नत्र बुवाले मै दिउँला भन्नु भाछ ।’ उनका बुवा कतारमा गाडी चलाउँछन् ।

दुई वर्षअघि वैदेशिक रोजगारका लागि साउदी पुगेका उनी खासै राम्रो नभएपछि ५ महिनामै घर फर्केका थिए । ‘पहिलोपटक जहाज दुबई जानेक्रममा चढेँ’, उनले भने । ‘अहिले आकाशमा भरतपुर काठमाडौँ जाने जहाज उडेको हेर्छु’, उनले भने, ‘गाउँलेहरु आउँछन्, मेरो काम हेर्छन् अनि यो बौलाहा भएछ भन्छन् ।’

Loading...