यस्तो सहमति भयो एकता संयोजन समितिको बैठकमा

काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । तर यसले ठोस निर्णय भने लिन सकेको छैन् ।

त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका थिए ।

एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुने अनौपचारिक सहमति जुटेको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक निकै सकारात्मक भएको भन्दै सांगठनिक व्यवस्थापन र पार्टीको नीतिबारे निर्णय गर्न दुई कार्यदल बनाइएको जानकारी दिए ।

उनले भोलि पुन एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको पनि जानकारी दिए । यस्तै एमाले उपाध्यक्ष भीम रावलले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउन बाँकी रहेको भन्दै कार्यदलमा छलफल गरेर निश्कर्षमा पुगिने बताए ।

यस्तै उनले दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको बताए ।

केपी ओली र प्रचण्ड नै अध्यक्ष रहने र प्रधानमन्त्री पालोपालो चलाउने सहमति भएको बताइएको छ । यद्यपी यसबारे औपचारिक जानकारी दिइएको छैन।

एमाले र माओवादीवीच पार्टी एकताका केही खाकाको रूपमा प्रस्तावहरू बैठकमा प्रवेश गरेका छन् । मोटामोटी रूपमा यी प्रस्तावमा सहमति जुटेपनि अाैपचारिक निर्णय भने भएको छैन् ।

बैठकमा ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष र प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष बन्ने गरी छलफल चलिरहेको छ ।

अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा समय प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको छ ।

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’, एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने विषयमा र दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने विषयमा समेत छलफल भएको छ ।

त्यस्तै एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने, राष्ट्रपति र उपसभामुख एमालेले तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिन गरी छलफल अगाडि बढेको छ ।

Loading...